३० जेष्ठ २०८३, शनिबार 1781398159
समाचार

पक्राउ परेका नेताहरुलाई रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने जगमान गुरुङको घोषणा

काठमाडौं : राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेताहरुलाई रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित प्रतिवद्धता सभामा बोल्दै गुरुङले वैशाख २१ गतेसम्म तीनकुने घटनामा पक्राउ परेकालाई रिहाइका साथै नवराज सुवेदीको नजरबन्द फुकुवा नभए वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन्।

सामूहिक गिरफ्तारीको अगुवाई आफुले गर्ने उनले बताए। उनले अब आफूहरुको आन्दोलन भ्रद्र अवज्ञा प्रकारको हुने उल्लेख गरे। अहिले सशस्त्र आन्दोलनको आवश्यकता नरहेको उनको भनाइ छ। गुरुङले राजावादीको आन्दोलन कमजोर भएको हल्ला फैलाइएको भन्दै अहिले आफूहरु योजनामा व्यस्त रहेको उल्लेख गरे। उनले वैशाख २१ देखि एक्सनमा जाने जिकिर गरे।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते तीनकुनेमा आयोजना गरिएको सभालाई राज्यले हिंसात्मक बनाएको आरोप लगाए। राजावादीहरुलाई कमजोर र बद्नाम गराउन राज्यले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप थुपार्ने काम गरेको उनले बताए। उनले संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरि संविधान संशोधनको प्रयास भएको भन्दै त्यसो गरिए देशमा आगो बल्ने चेतावनी दिए।