काठमाडौं । दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ। काँकडभिट्टा नाका हुँदै झापा पुर्याइएका उनलाई भद्रपुर विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएको हो।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार प्रसाईंविरुद्ध राज्यविरुद्ध र अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न म्याद थपका लागि अदालत लगिने भएको हो। उहाँले भन्नुभयाे, ‘प्रसाईंविरुद्ध राज्यविरुद्ध र अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता भएको छ। सोही कसुरमा अनुसन्धान गर्न प्रसाईंलाई अदालत लैजाने तयारी छ।’
राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी आज बिहान झापा ल्याइएको थियो। भद्रपुर विमानस्थल ल्याउनुअघि प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको थियो। उनीसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खड्कालाई पनि काठमाडौं ल्याइएको छ। प्रहरीले दुवैजना विरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्ने जनाएको छ।
प्रसाईंसँगै खड्का पनि भेटिएपछि प्रहरीले उनलाई समेत पक्राउ गरेको हो। प्रसाईं चैत्र १५ गते तीनकुनेको राजावादीको प्रदर्शनस्थलबाट फरार भएका थिए। प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिनअघि भारत गएको थियो।
तीनकुनेमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक हुँदा दुईजनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित १३० भन्दा बढी घाइते भएका थिए। आन्दोलनकारीलाई उक्साएर विध्वंशकारी घटना घटाएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि प्रहरी हिरासतमा छन्। उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधको कसुरमा मुद्दा चलाइएको छ।


