काठमाडौं, २ वैशाख । आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे सरकारको तयारी तथा समितिको प्रगतिबारे सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र शिक्षा समितिको विद्यालय शिक्षा उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग छलफल गरेका छन् ।
शुक्रबार भएको भेटमा शिक्षामन्त्री भट्टराईले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसद्को आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसद्मा पेश गर्नेगरी शिक्षक र सरकारबीच संवाद भइरहेको जानकारी गराइन् । उनका अनुसार शिक्षकको सेवा सुविधाको विषय अर्थ मन्त्रालयसँग पनि जोडिएकाले उपप्रधान तथा अर्थमन्त्रीसँग छलफल गरिएको छ ।
उपसमितिका संयोजक विश्वकर्माले उपसमितिले विधेयकका १६३ वटा दफामध्ये अहिलेसम्म ८२ वटा दफामा छलफल गरेर निष्कर्षमा पुर्याएको जानकारी दिए । ३५ दिन समय पाएको उपसमितिले तोकिएकै समयावधिभित्र समितिलाई प्रतिवेदन पेश गर्ने बताए ।
सभामुखले शिक्षकका मागबारे गम्भीर भएर काम गर्न सरकार र समितिको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ ।