२ जेष्ठ २०८३, शनिबार 1778911324
समाचार

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं, ८ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा हाल देखापरेको विवाद समाधानका लागि सङ्घकै अग्रजहरूले भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । सङ्घका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग शीतलनिवासमा आज भएको भेटमा उहाँले एनआरएनए विश्व डायस्पोरामै उत्कृष्ट संस्था भएकाले व्यक्तिगत वा कुनै साना समूहगत असन्तुष्टिका कारण संस्था नै अप्ठेरोमा पार्न नहुने बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “तपाईहरुको अहिलेको समस्याको निकास निकाल्न एनआरएनकै अग्रजहरुको भूमिका महत्वपूर्ण छ, सकेसम्म मिलेर अघि बढ्दा राम्रो हुन्छ ।” भेटमा अध्यक्ष डा केसीले सङ्घको वर्तमान अवस्था र मागबारे जानकारी गराउनुभएको थियो । भेटमा उपाध्यक्षद्वय डा हेमराज शर्मा, रोजिना प्रधान राई, उपमहासचिव सोमनाथ सापकोटा, सचिव टीका गुरुङ, सहकोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, एनसीसी बेल्जियमका पूर्वअध्यक्ष खड्कबहादुर केसी, अमेरिकाका प्रतिनिधि आरसी पन्त, सल्लाहकार अतुल कोइराला, संस्थापक अन्तरराष्ट्रिय संयोजक भीम उदास तथा डा मीन रानाभाट (यूके), सङ्घका सिइओ राजेन्द्रकुमार राउत, सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेलगायतको उपस्थिति थियो ।