हेटौंडा, १० वैशाख । नेकपा (एमाले)का केन्द्रीय सदस्य रामेश्वर रानाले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भइरहेको बताएका छन् ।
मंगलबार कम्युनिष्ट पार्टी स्थापना दिवस तथा एमालेले सञ्चालन गरेको वडा केन्द्रित तीनमहिने अभियानको हेटौंडामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै रानाले सामाजिक सञ्जालहरुमार्फत एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भइरहेको बताएका हुन् । उनले त्यस्तो प्रयास असफल पार्नका लागि एमालेका सबै पंक्ति एकजुट भएर लाग्नुको विकल्प नरहेको बताए । उनले अभिमन्यूलाई झैं घेराबन्दीमा पारेर एमालेलाई गलाउने प्रयास भइरहेको बताउँदै अहिलेका आधुनिक अभिमन्यूहरुले त्यस्ता भ्रमहरुलाई तोडेर बाहिर निस्कने सक्ने ल्याकत रहेको बताए ।
‘सामाजिक सञ्जाल होस् वा एआइ टुल्स नै किन नहोस् हामी सदुपयोग गरेर भ्रमजालबाट देशलाई मुक्त बनाउन लाग्नेछौँ’, रानाले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केदार न्यौपानले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको पृष्ठभूमिबारे प्रकाश पारेका थिए । उनले तत्कालीन राणाशासनको अन्त्य र नागरिक अधिकार प्राप्तिको एजेण्डा लिएर नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको सन्दर्भ उठाउँदै कम्युनिष्ट आचरणमा रहेर श्रमिक बर्गको एजेण्डा उठाउने पार्टी आजको आवश्यकता बनेको बताए ।
‘जब हामीले श्रमिकका मुद्दा, गरिब र विपन्नको मुद्दा बोक्दैनौँ भने पुँजीवाद हाबी हुन्छ र व्यवस्थामाथि खतरा बढ्छ’, न्यौपानेले भने– ‘अहिले हामीले प्राप्त गरेको गणतन्त्रको नेतृत्व पनि कम्युनिष्ट पार्टीले गर्न सकेन भने नाम मात्रको गणतन्त्र हुनेछ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले संसदीय कामका बाबजुत आफू निरन्तर पार्टीको अभियानमा जोडिएर अघि बढिरहेको बताए । उनले पार्टी कामका अलावा संसदीय काम र विकास निर्माणका कामा जनतासामु जोडिएर अघि बढिरहेको सन्दर्भ उठाउँदै आगामी सरकारले सही ढंगले काम गरिरहेको बताए । शिक्षक आन्दोलनका प्रसंगमा उनले राजनीति हाबी हुँदै जाँदा आन्दोलनले अर्कै रुप लिन पुगेको बताए । नेपाली कांग्रेस निकटका शिक्षक महासंघको नेतृत्वले अहिले एमालेको नेतृत्वमा रहेको सरकारलाई बदनाम पार्ने प्रयत्न भइरहेको उनको भनाई छ ।
जिल्ला अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न तह र तप्काका नेताहरुको उपस्थिति थियो । अध्यक्ष पोखरले तीन महिने वडा केन्द्रित अभियानअन्तर्गत १०२ वटै वडामा पार्टीका वडा कमिटीहरु चुस्त पारिएको र ४७६ वटा टोल कमिटी गठन भएको प्रतिवेदन पेस गरेका थिए ।


