१७ असार २०८३, बुधबार 1782948814
Banner

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएपछि शुक्रबारबाट सामुदायिक तथा सरकारी विद्यालय खुल्ने

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच ९ बुँदे सहमति भएसँगै शिक्षक आन्दोलन हाललाई स्थगित भएको छ ।

शिक्षकहरूको प्रमुख माग विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र संसदबाट पारित गर्नेगरी दुई पक्षबीच समझदारी भएको छ । त्यसका लागि सत्तारुढ दलका प्रमुख सचेतक र शिक्षा समितिका सभापतिले लिखित प्रतिबद्धता जनाएसँगै शिक्षक आन्दोलन हाललाई स्थगित भएको हो ।

२९ दिन लामो आन्दोलन स्थगित भएसँगै शुक्रबारदेखि सामुदायिक तथा सरकारी विद्यालय खुल्ने भएका छन् । बिहीबार भने मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार साँझ भएको वार्तापछि दुबै पक्ष सहमतिमा पुगेका हुन्। सहमति अनुसार, अबदेखि देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूले काठमाडौँको निजामती अस्पतालमा सहुलियत दरमा स्वास्थ्य सेवा पाउनेछन्। यसअघि निजामती कर्मचारीहरूलाई मात्र यस्तो सुविधा दिइएको थियो।

सहमतिमा अस्थायी, राहत, करार, साबिक उमावि, प्राविधिक धार, विशेष शिक्षा तथा प्रारम्भिक बाल विकास शिक्षकहरूको बिदा सञ्चय भई अवकाशका बेला एकमुष्ट रकम उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

यससँगै प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारले निर्धारण गरेअनुसार लागू गरिनेछ।