२८ भदौ २०८३, आइतबार 1789305896
Banner

विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, १८ वैशाख : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै लाखौँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ का ३९ वर्षीय सम्पूर्ण केसी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ का २९ वर्षीय सुजन गिरी, पाल्पा रम्भा गाउँपालिका–५ का ५८ वर्षीय शिरबहादुर बराल र काठमाडौँ तार्केश्वर नगरपालिका–४ की ३३ वर्षीया सरस्वती देवकोटा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ पर्नेमध्ये सम्पूर्णले बेलायत पठाइदिने भन्दै रु ३५ लाख, सुजनले बेलायत पठाइदिने भन्दै रु २६ लाख ६५ हजार, शिरबहादुरले दक्षिणकोरिया पठाइदिने भन्दै रु सात लाख ५० हजार र सरस्वतीले युएई पठाइदिने भन्दै रु एक लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।