८ मंसिर २०८१, शनिबार 1732353559
अर्थ

जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्दै

दोहा – कुवेतको जजिरा एयरवेजको पहिलो उडान आगामी जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार जजिरा एयरले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ प्रत्यक्ष हवाई सेवा सुरु गर्ने घोषणा गरेको हो ।यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हुनेछ । यसअघि सन् २०१९ को नोभेम्बरदेखि उक्त विमान सेवा कम्पनीले कुवेत सिटी र काठमाडौँबीच प्रत्यक्ष हवाई सेवा दिदै आएको छ ।

यसको सुरुवातसँगै मध्यपूर्वमा बसोबास गर्ने नेपालीहरूको ठूलो समुदायलाई नेपालको दक्षिण(पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवामार्फत जोड्न सकिने र वैदेशिक रोजगारी तथा अन्य प्रयोजनले खाडी मुलुक प्रवेश गर्ने नेपालीहरुका लागि सहज र सुविधाजनक हवाई यात्रा हुने अपेक्षा गरिएको दूतावासले जनाएको छ ।

साथै, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकहरूको लागि थप सहज हुने जनाएको छ ।

एयरवेजले एक तालिका सार्वजनिक गर्दै कुवेतबाट स्थानीय समय अनुसार साँझ १८:३० बजे उडेको विमान जेठ २ गते १ बजेर ४५ मिनेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाएको छ ।

जहाज बिहान २ बजेर ३० मिनेट जाँदा कुवेतका लागि प्रस्थान गर्ने जनाएको छ । जजिरा एयरवेजले साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार उडान भर्नेछ ।