काठमाडौँ, २२ वैशाखः प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सरकारले ल्याएको नीति तथा कार्यक्रमले विभिन्न क्षेत्रलाई समेटेको र उत्कृष्ट रहेको धारणा व्यक्त गर्नुभएको छ । आव २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलमा सम्बोधन गर्दै उहाँले यो नीति तथा कार्यक्रमले विभिन्न प्रभावका कारण पूरा नहुने कार्यक्रमलाई हटाएर गर्न सकिने योजनामा जोड दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो नीति तथा कार्यक्रमले स्रोत व्यवस्थापन, जनशक्ति र राज्यको क्षमताले गर्न सक्ने योजना ल्याएको छ । यसले महत्त्वपूर्ण प्रतिबद्धता व्यक्त गरेको छ ।” सांसद आचार्यले यो नीति तथा कार्यक्रमले राजनीतिक र नीतिगत स्थिरताको प्रतिबद्धता व्यक्त गरेको छ । उहाँले पूरा गर्न सकिने र क्षमताले भ्याउने आयोजनामा बढी जोड दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षाका क्षेत्रमा पनि सुधारसहितका कार्यक्रम आएको बताउनुभयो ।
साथै स्वास्थ्य बिमा बोर्डको पुनःसंरचना गरिने भन्ने कार्यक्रम स्वागतयोग्य भएको बताउँदै ‘जेनजी’ पुस्तालाई रोजगारीमा सहभागिता गराउने विषय राम्रो भएको बताउनुभयो । सांसद आचार्यले भन्नुभयो, “जेनजीपछिको २८ देखि ४१ वर्षसम्मको पुस्तालाई पनि रोजगारीमा लानुपर्ने देखिन्छ । नीति तथा कार्यक्रमले रोजगारी र उद्यमशीलतामा केन्द्रित हुने भनेको छ त्यो राम्रो पक्ष हो ।” गरिबी निवारण र रोजगारी सिर्जनामा सार्वजनिक, सहकारी र निजी क्षेत्रबीचको समन्वय गर्ने नीति सरकारले गरेको राम्रो पक्ष रहेको उहाँको भनाइ छ ।


