५ भदौ २०८३, शुक्रबार 1787355187
Banner

भ्रष्टाचार गर्नकै लागि विमानस्थल बनाइयो : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भ्रष्टाचार भएको आरोप लगाएका छन्।

भ्रष्टाचार गर्नकै लागि यी दुई विमानस्थल बनाएको उनले दाबी गरे। शनिबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनबारे गरेको छलफलमा बोल्दै लिङ्देनले ठूला योजना ल्याउँदा ठूलै पैसा खान पाइन्छ भनेर विमानस्थल बनाइएको आरोप लगाए।

प्रतिनिधि सभा सदस्य समेत रहेका लिङ्देनले चारसय बिघा जग्गा अधिग्रहण गरेर हुनेमा ८ सय बिघा बढी अधिग्रहण गरी गौतमबुद्ध विमानस्थलमा भ्रष्टाचार गरिएको दाबी गरे। ‘नागरिकको टाउकोमा ऋण थोपरेर ४०/४१ अर्ब खर्च गरेर विमानस्थल बनाउने तर नचलाउनेको खोजी गर्नुपर्ने बेला आएको छ,’ लिङ्देनले भने।

लिङ्देनले सरकारले चाहे गौतमबुद्ध विमानस्थल सञ्चालन हुन सक्ने तर पोखरामा न्यारोबडी जहाज समेत सञ्चालनमा कठिनाइ हुनसक्ने बताए। अब विमानस्थल पनि चलाउनुपर्ने र भ्रष्टाचार लगायत ऋण बोकाएर विमानस्थल बनाउनेलाई पनि कारबाही गर्नुपर्ने माग गरे। भैरहवामा नियमित उडानका लागि बुद्धिष्ट मुलुकहरूमा उडान गरी धार्मिक तथा आध्यात्मिक पर्यटक भित्र्याउन सक्नुपर्ने उनको भनाइ छ।