काठमाडौं, २ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अहिले नै ढाल्ने पक्षमा आफू नरहेको बताएका छन् ।
प्रेस सेन्टर डडेल्धुराले शुक्रबार बिहान डडेल्धुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफू सरकार ढाल्ने खेलतिर नरहेको बताएका हुन् । उनले सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको आरोप लगाए । यस्ता गतिविधिमा आफूहरूले सुरुदेखि नै खबरदारी गरिरहे पनि सरकार परिवर्तनको खेलतर्फ भने नलाग्ने दोहोर्याए ।
‘सरकारले सुशासन र हामीले सुरु गरेका कामलाई भत्काउने कामतर्फ लागेको छ । सरकार उल्टो बाटो हिँडेकोमा चिन्तित छौँ’, उनले भने, ‘खबरदारी गरिरहेका छौँ । तर, अहिले नै सरकार ढाल्ने खेलतिर छैनौँ ।’


