काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले मदन भण्डारीको योगदानको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिएका छन् । शनिबार सो पार्टीले मदन–आश्रितको ३२ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेता खनालले पार्टीको पाँचौँ महाधिवेशनमा नयाँ जनवादलाई विमर्शबाट हटाउनु पार्टीको ठुलो गल्ती भएको स्पष्ट पारे । उनले भने, ‘नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सक्ने सम्भावना थियो, तर त्यो सम्भव भएन, अब समाजवादी क्रान्तिको यात्रालाई अगाडि बढाउनुको विकल्प छैन ।
मदन भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानमाथि अहिलेसम्म गहिरो र आधिकारिक समीक्षा नभएको भन्दै उनले थपे, ‘उनको समग्र जीवन र कार्यदिशालाई मूल्याङ्कन नगरी उनको योगदानको सच्चा सम्मान सम्भव छैन ।’
नेता खनालले आजको नेपाली समाजको ठोस विश्लेषण गर्दै आजको प्रधान शत्रुको पहिचान गरी क्रान्तिको मार्ग स्पष्ट पार्नुपर्ने आवश्यकता औँल्याए । ‘कम्युनिस्ट पार्टीबिचको एकता अबको प्रमुख कार्यभार हो, एकीकृत पार्टी नबनेसम्म देशमा क्रान्ति सम्पन्न हुँदैन,’ उनले भने ।
कम्युनिस्ट आन्दोलनको पुनर्संरचना र रूपान्तरणको खाँचो औँल्याउँदै उनले भने, ‘मदन भण्डारीको सपना साकार पार्न र उनको योगदानको कदर गर्न अबको बाटो स्पष्ट छ — विचारको पुनर् समीक्षा, संगठानको पुनर्गठन र एकताको पुनर्निर्माण ।
नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) द्वारा आयोजित उक्त कार्यक्रममा अन्य नेताहरूले पनि मदन भण्डारीको आदर्श, सिद्धान्त र योगदानको चर्चा गर्दै समसामयिक राजनीतिक सन्दर्भमा उनको विचारको सान्दर्भिकताबारे धारणा राखेका थिए ।


