४ आश्विन २०८१, शुक्रबार 1726849281
Banner

मतदाता शिक्षा र नयाँ मतदातालाई परिचयपत्र वितरण आज पनि

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सही तरिकाबाट मतदान गर्न सिकाउन मतदातालाई शिक्षा दिने र मतदाता परिचयपत्र वितरण गर्ने कार्य आज पनि गर्नेछ । देशभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ मतदातालाई मतदान स्थल र मतदान केन्द्रहरूबाट बुधबार पनि मतदाता परिचयपत्र प्रदान गरेको थियो ।

आयोगले स्थानीय तहको निर्वाचनका लागि मतदाताहरूले दिएको मत बदर नहोस् भनेर मतदान स्थल र मतदान केन्द्रबाटै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

३५ हजार २ सय २१ पदका लागि भोलि शुक्रबार हुने निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ती उम्मेदवारलाई १० हजार ७ सय ५६ मतदान स्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्नेछन् ।

मतदानमार्फत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुनेछ ।

निर्वाचनमा विभिन्न राजनीतिक दलका ३ सय ५५ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसमध्ये ६ जना वडाध्यक्षसहित ३५ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।