काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र एमालेको आन्दोलन एक दिनको भुल्को नभएको बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ महाधिवेशनलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमाले आन्दोलनबाट खारिएर र माझिएर आएको भन्दै अराजकता एमालेका लागि सधैँ शत्रु हुने बताए ।
उनले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर एमाले र सरकारले काम गरिरहेको समेत बताए । ‘सामाजिक सञ्जाल र डिजिटल माध्यम प्रयोग गरेर देशको भलो नचिताउने,शान्ति सुरक्षा नचाहने र विकासको गतिलाई तीव्र अघि बढाउन नचाहने अराजकतावादी र प्रतिगामी तत्त्वहरू हामी विरुद्ध आउने कोशिस गरिरहेका छन्’, ओलीले भने, ‘हामी त्यसलाई बुझेर जुध्नुपर्दछ । हाम्रो जुधाई कम भएको छ । राम्रो काम गरे पनि विपक्षीहरूका अभियोगविरुद्ध पर्याप्त जुधाई छैन, जसका कारण जनतामा भ्रम अन्योल र शिथिलता बढ्ने खतरा छ ।’
उनले एमाले पार्टी र आन्दोलन एक दिनको भुल्को नभएको पनि बताए । ‘एमाले र एमाले आन्दोलन एक दिनको भुल्को होइन । कुनै एउटा चटके कुरा गर्दिएर हाहा..हु.. गर्ने जमात होइन । हजार रुपैयाँ गोजीमा हाल्दिएर ल्याएको जमात वा लुटपाट गरेर हिँडेको जमात पनि होइन’, ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सशक्त ढङ्गले अघि बढेमा मिसन ८४ मा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताए ।


