१५ श्रावण २०८३, शुक्रबार 1785550985
Banner

संविधानको अपव्याख्या गर्दै सरकार धम्क्याउन खोज्दैछ : राप्रपा प्रवक्ता श्रेष्ठ

काठमाडौँ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले ’राजावादी गतिविधि नियन्त्रण गर्न प्रतिबन्धसमेत लगाउन सकिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि राजावादी दल राप्रपाले जवाफ फर्काएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले उक्त अभिव्यक्तिलाई ’संविधानको घोर अपव्याख्या’ भन्दै आपत्ति जनाएका छन् । बिहीबार कुराकानीमा श्रेष्ठले भने, ’संविधानले कुनै पनि दल खोल्ने, विचार व्यक्त गर्ने, राजनीतिक गतिविधि गर्ने अधिकार सुनिश्चित गरेको छ। त्यसलाई तोडमोड गरेर प्रतिबन्धको कुरा गर्नु आपत्तिजनक छ।’ उनले यस्तो अभिव्यक्ति जिम्मेवार पदमा बसेकाले दिन नमिल्ने बताए ।

श्रेष्ठले जेठ १५ का लागि घोषित आन्दोलनमा राप्रपाको सक्रिय भूमिका रहने समेत बताए । ’देशलाई यथास्थितिबाट मुक्त गर्नका लागि संयुक्त आन्दोलन अपरिहार्य भएकोले हामी आ–आफ्नो तयारीमा जुटेका छौं,’ उनले भने । उनले सरकारबाट धम्कीपूर्ण अभिव्यक्ति आउनु  ’राजनीतिक भय’ र ’वैकल्पिक विचारको दमन’ को संकेत भएको टिप्पणी गरे । उनले आन्दोलनमा सहभागिताका लागि स्वस्फूर्त आह्वान गरिएको समेत बताए ।