काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले आयोगले प्रत्यक्ष आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने बताएका छन् । आइतबार ललितपुरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित श्रम सम्बन्धी गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष अधिकारीले लगानी गर्ने संस्था भएको तर प्रोत्साहन नहुने अवरोध खडा गर्ने जस्ता कार्य भएको भन्दै आयोगले त्यसबारेमा नजिकबाट काम गर्न खोजेको बताए । उनले अर्गनाइजेसनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न कहाँ–कहाँ अवरोध छ ? कहाँ ओभर ल्यापिङ छ ? कहाँ सिर्नजी र ट्रेडफ छ ? भन्दै प्रश्न गर्दै कार्यविधि बनाई त्यसलाई हटाउन आयोगले समन्वय गर्ने र त्यससम्बन्धी कार्यलाई अगाडि बढाइसकिएको पनि जानकारी दिए ।
उपाध्यक्ष अधिकारीले जुन निकायले दुई जना मान्छेको लागि रोजगारी सिर्जना गर्दैन त्यसलाई ट्याक्स छुट चाहिएको भन्नु हुँदै टयाक्स छुटले सरकारको ऋण मात्र बढाउने काम भएको उल्लेख गरे । उनले ठुला लगानी भएको र रोजगारी सिर्जना गरिरहेकालाई मात्र ट्याक्स छुट दिन सकिने समेत जिकिर गरे । उनले आयोगले अबको दिनमा कता र कस्तो क्षेत्रमा लगानी गर्ने भन्ने विषयमा समेत दिशा निर्देश गर्ने बताए । पछिल्लो समय बेरोजगारी दर घटेको भएपनि आगामी दिनमा बढ्न नदिने र अझै घटाउँदै लैजाने र सोहौँ योजनाले पनि बेरोजगारी दर पाँच प्रतिशतमा झार्ने लक्ष्य राखेको जानकारी दिए ।
एक समयमा छिमेकी देश भारतको बेरोजगारी दर नेपालको भन्दा बढी रहेको भन्दै उनले पछिल्लो समयमा भने भारतको भन्दा नेपालको बेरोजगारी दर बढी रहेको बताए । खानी क्षेत्र, होटेल रेस्टुरेन्ट, रियल स्टेट, निर्माण, जलविद्युत क्षेत्रमा जोड दिन सकेमा रोजगार सिर्जना गर्न सकिने भएको हुँदा अबको दिनमा लगानीलाई त्यस क्षेत्रमा प्राथमिकता दिनु पर्नेमा उपाध्यक्ष अधिकारीले जोड दिए । कृषि, निर्माण, लघु तथा घरेलु जस्ता क्षेत्रमा लगानी बढाई व्यक्तिलाई श्रममुखी बनाई रोजगारी विकासको दर वृद्धि गर्न सकिने र यसको लागि निजी र सहकारी क्षेत्रलाई उत्प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।


