काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट सार्वजनिक हुँदै छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले मंगलबारदेखि सदन अवरुद्ध गरेका गर्दै आएका छन् । तर, उनीहरूले बजेट ल्याउन भने दिने निर्णय गरेका छन् । अर्थमन्त्रीले बजेट वक्तव्य सार्वजनिक गर्नुअघि संसद्मा चालु आवको आर्थिक सर्वेक्षण पनि पेस गर्ने कार्यक्रम रहेको छ ।
बजेट वक्तव्यसँगै अर्थमन्त्रीले विनियोजन विधेयक, अर्थसम्बन्धी विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पेस गर्ने छन् । नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा ९३० मा प्रत्येक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।
राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि १९ खर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई साकार पार्ने, आर्थिक सुधारलाई प्राथमिकता दिने र सामाजिक सुरक्षालाई सुदृढ गर्ने लक्ष्यसहित बजेट ल्याउने सरकारको तयारी छ ।


