काठमाडौं । नेपालका लागि भारतीय नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकास्थित दिव्य दीप माध्यमिक विद्यालयको लागि छात्रावास भवन तथा चमेना गृह निर्माणको शिलान्यास गरेका छन् । ‘नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको ३.७६ करोड आर्थिक सहयोगमा उक्त छात्रावास भवनको निर्माण गर्न लागिएको हो ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी विद्यालय व्यवस्थापनका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । भारत सरकारको अनुदान सहयोगमा उक्त विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले छात्रावास भवनको निर्माणमा उपयोग गरिने जनाइएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । यस परियोजनाको कार्यान्वयन लोमान्थाङ गाउँपालिका, मुस्ताङमार्फत गरिने जनाइएको छ ।
कार्यक्रममा बोल्दै लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका अध्यक्ष र राजनीतिक प्रतिनिधिले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

सन् २००३ यता भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य, सडक र पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, कृषि, संस्कृति र समाज कल्याण लगायत विभिन्न क्षेत्रहरूमा ५७३ एचआइसीडीपीहरुमा कार्य गरेको छ । यी परियोजनाहरू नेपालका सातै प्रदेशहरूमा फैलिएका छन् । ५७३ परियोजनाहरू मध्ये ५९ वटा परियोजनाहरू गण्डकी प्रदेशमा छन् जसमध्ये मुस्ताङमा १७ वटा परियोजनाहरू छन् । यसका अलावा भारत सरकारले हालसम्म नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ । यी मध्ये गण्डकी प्रदेशका विभिन्न संस्थाहरूलाई ११९ वटा एम्बुलेन्स र ४० वटा स्कूल बस उपहार स्वरुप प्रदान गरिएको छ जसमा मुस्ताङका लागि ११ वटा एम्बुलेन्स र ५ वटा स्कूल बस प्रदान गरिएको छ । यी सवारी साधनहरूले यस क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवाहरूमा पहुँच बढाउन मद्दत गरिरहेका छन् ।
यस अवसरमा काठमाडौंस्थित भारतीय दूतावासका नियोग उपप्रमुख श्री प्रसन्न श्रीवास्तवले वर्षौंदेखि रहिआएको भारत(नेपाल विकास साझेदारीको वृद्धि, विस्तार र विविधीकरणमा खुशी व्यक्त गर्नुभयो । वहाँले नेपाल सरकार र नेपाली जनताको प्राथमिकतामा आधारित रही यस साझेदारीलाई थप प्रगाढ र सुदृढ पार्ने भारत सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो ।
मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गर्नुभयो । वहाँहरूले निर्माण हुने पूर्वाधारले मुस्ताङको श्री दिव्य दीप माध्यमिक विद्यालयका विद्यार्थीहरूको लागि सिकाइको उपयुक्त वातावरण सिर्जना गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुस्ताङमा जारी भ्रमणको क्रममा नियोग उपप्रमुखले मुस्ताङको लोमान्थाङस्थित लोवो निफुग नामड्रोल नोर्वुलिङ्ग मोनास्टिक स्कूलको समेत भ्रमण गर्नुभयो । यस मोनास्टिक स्कूलको छात्रावास भवन हाल भारत सरकारको आर्थिक सहयोगमा नेरु।४।१४ करोड परियोजना लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा निर्माण भइरहेको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।


