१ भदौ २०८३, सोमबार 1787009834
समाचार

सोलुखुम्बुमा अटोरिक्सा १५० मिटर तल खस्दा २८ वर्षीय युवकको मृत्यु, अन्य ३ जना घाइते

साेलुखुम्बु ,२८ जेठ। सोलुखुम्बुमा अटोरिक्सा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। शनिबार सोलुदुधकुण्ड नगरपालिका-८ बाघखोरमा अटो दुर्घटना हुँदा ओखलढुंगाको मोलुङ गाउँपालिका-८ बस्ने २८ वर्षीय लाक्पा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

सदरमुकाम सल्लेरीबाट ओखलढुंगा जाँदै गरेको टेम्पो सडकबाट तल खस्दा अन्य तीन जना घाइते भएका छन्। शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए।

अटो सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। दुर्घटनामा अटो चालक सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका-६ मुक्लीका ३८ वर्षीय राजेश विक, सोही ठाउँका ४० वर्षीय काजी विक र ओखलढुंगा मोलुङका ३५ वर्षीय मिङमार शेर्पा घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ओभर लोड र तीव्र गतिको कारण अटो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।