काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले चाँडै कार्यपालिका र नगरसभा बैठक बस्ने जनाएको छ । उपप्रमुख सुनिता डंगोलसँग भएको वार्ता सकारात्मक भएको भन्दै बैठक छिट्टै बस्ने सचिवालयले बताएको हो । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार, कार्यपालिका र नगरसभा बैठक राख्नेबारे उनीहरूबीच छलफल भएको हो ।
‘बैठक सकारात्मक भयो । विशेषगरी कार्यपालिका र नगरसभा बैठक राख्नेबारे राम्रो कुराकानी भएको छ,’ प्रमुख स्वकीय शाहले भने । उनका अनुसार, बैठकमा ३ जना वडाध्यक्ष पनि सहभागी थिए । ‘जनभावाना अनुरुप बजेट ल्याउनपर्छ भनेर बैठक राखिएको हो । अब बजेटको सिलिङ निर्धारण गर्ने बैठक पनि छिट्टै बस्छ,’ उनले भने ।
काठमाडौं महानगरको कार्यपालिका बैठक बस्न नसकेको करिब ५ महिना नाघिसकेको छ । १४ पुसमा १६ औं नगरसभा बैठक बस्नु अगाडि बसेको कार्यपालिका बैठक त्यसपछि बस्न सकेको छैन । मेयरले बैठक नबोलाएको भन्दै आलोचना बढेको थियो । वडाध्यक्षहरूले पनि निरन्तर बैठक बोलाउन मेयर शाहलाई दबाब दिँदै आएका थिए ।


