२८ असार २०८२, शनिबार 1752346344
Banner

रास्वपा सांसदहरूले जनतालाई नै गुमराहमा राखे : डा. महत

काठमाडौँ : नेपाली काँग्रेसका सांसद डाक्टर प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बजेटका तमाम विषयको छलफलमा सहभागी नभएर एउटा महत्त्वपूर्ण अवसर गुमाएको बताएका छन् ।

इतबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद डा. महतले बजेट वर्षमा एक पटक आउने र बजेटको तमाम विषय चिरफार गर्नुपर्ने समयमा आन्दोलन गरेर उक्त अवसर गुमाएको बताएका हुन् ।

उनले कुनै पनि आधार नै नभएको विषयलाई लिएर छलफलमा भाग नलिनु जनप्रतिनिधिको हैसियतले जनतालाई नै गुमराहमा राख्नु सरह भएको आरोप लगाए । विरोधका बिच पनि प्रमुख प्रतिपक्षी दलले सक्रिय सहभागिता जनाउनु खुसीको विषय भएको बताउँदै उनले मुलुकको वित्त व्यवस्थापनका कुराहरू बजेटले बोल्ने भएकाले तथ्यहीन विषयमा आन्दोलन गरिरहनुको कुनै औचित्य नभएको टिप्पणी गरे ।

उनले परिणाममुखी बजेटको आवश्यकतालाई ध्यान दिँदै अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई परिणाममुखी बनाउने कोसिस गरेको जिकिर गरे ।