काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले नाराबाजी गरिरहँदा पनि संसद् चलाउनु विभेद भएको टिप्पणी गरेका छन् । संसद्मा भईरहेको विभेदको बारेमा समेत उनले कडारुपमा आवाज उठाए । प्रतिनिधिसभाको आज (आईतबार) नाराबाजीका बीचमा सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेको भुमिका माथि समेत उनले प्रश्न उठाए । नाराबाजीका बीचमा बैठक सञ्चालन भएकोमा बजेटको बारेमा प्रभावकारी छलफल गर्न नसकिएको बताउदै उनले आफ्नो कुरा राख्दैगर्दा साह र सभामुखका बीचमा नोकझोकको अवस्था समेत आयो ।
रास्वपाका सांसदले वेल घेराउ गर्दा पनि होहल्लाका बीचमा विभेदपूर्ण तरिकाले सभामुखले बैठक अगाडी बढाएको साहले भन्दै गर्दा वेल घेराउ गरिरहेका रास्वपा सांसदले तालि पिटेर स्वागत गरे । तर सभामुख घिमिरेले सांसद साहलाई बिषय केन्द्रित हुन भन्दै गर्दा बजेटको बारेमा छलफल गर्ने वातावरण नै नभएको जवाफ साहले फर्काए ।
‘सम्माननीय सभामुख महोदय, यो संसदमा कुनै अमुक पार्टीले आफ्नो सिटमा उभिँदैमा संसद् अवरुद्ध हुने, संसद् स्थगित हुने अनि अर्को पार्टीले वेलमै नाराबाजी गरिराख्दा संसद् अवरुद्ध नहुने ? यो कस्तो विभेद हो भनेर म जान्न चाहन्छु । सभामुख भनेको तटस्थ भूमिकामा हुनुपर्छ । आज सभामुखको यो व्यवहार हेर्दा मलाई आश्चर्य लागेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘म दुःखी पनि छु । सबैको साझा हुनुपर्छ । संसद्को चौथो र पाँचौ ठूलो दलले संसदमा विरोध गरिराख्दा आज सभामुखले जसरी यो व्यवहार गरिराख्नुभएको छ, पहिलापनि संसदमा नाराबाजी हुँदा संसद् चल्दथ्यो । तर छोटो समयको लागि मात्रै चल्दथ्यो । आज एउटा नयाँ रेकर्ड कायम भयो । त्यसका लागि म शुभकामना दिन चाहन्छु ।’
उनले दुई तिहाईको शक्तिशाली सरकारले संसद्लाई शान्त बनाउन नसकेकोमा आलोचना गरे । उनले भने, ‘दुई तिहाई भनेको त संख्या मात्रै होइन होला नि, दुई तिहाई भनेको अंक हो कि परीणाम हो ? आज सबभन्दा शक्तिशाली सरकार भन्ने अनि संसद्को यस्तो वातावरण (होहल्ला)मा छलफल गर्नुपर्ने ? यो भन्दा दुःखदायी अरु के होला ?’ उनले सभामुखलाई संवेदनशिलता छ भने अलिकति चिन्ता लिन आग्रह गरे । उनले प्रश्न गरे, ‘के यो संसद् सहज हुनै नसक्ने हो ? के यस्तै चलिराख्छ ?’ उनले संसद्को आजको गतिविधि र दृश्य हेरेर भोजपुरीको कहावत ‘हडबडीके विवाह, कनपट्टीमे सिन्दुर’ सुनाए । उनले अहिले देखिएको सबै काण्डको पछि दुई तिहाईको सरकार रहेको आरोप लगाए ।
उनले भने, ‘यो अपवित्र गठबन्धन बनेदेखि नै देशले दुःख पाईरहेको छ । बाहिर हेर्दा एउटै देखिन्छ तर भित्र यो गठबन्धनमा अनेक खालका बखेडा हामीले हेरिरहेका छौं ।’ उनले अख्तियारले भिजिट भिसा प्रकरणमा गरिरहेको अनुसन्धान किन मिडियामा बाहिरियो ? भनेर प्रश्न गरे । सांसद साहले विरोध र वेल घेराउबीच सदन चलाएकोमा सभामुख घिमिरेको भूमिकाको खुलेर आलोचना गरे । सभामुख घिमिरेले सो क्रममा साहलाई विषयकेन्द्रित कुरा राख्न निर्देशन दिएका थिए । जवाफममा साहले बजेटको विषयमा बोल्नको लागि आफू छलफलमा भाग लिएको भएपनि बोल्ने वातावरण नभएको बताए । साहले अहिलेको बजेट बिचौलियालाई खुशी बनाउनको लागि ल्याईएका गम्भीर आरोप लगाए ।
उनले भने, ‘अहिलेको यो बजेट बिचौलियालाई खुसी बनाउने खालको छ । बिचौलियाले उत्सव मनाइरहेको छ । नेताहरूको घर–घरमा भोजभतेर गर्दै हिडेँको छन् । नेपाली जनता चिन्तित छन् । नेपाली जनता निराश छन् । यो बजेट कसको लागि आएको हो ? सायद यसैलाई गुमराह बनाउन, यसैलाई ओझेलमा पार्न संसद्को छलफललाई दुषित गरिरहेको त छैन भन्ने प्रश्न आएको छ ।’ आजपा अध्यक्ष साहले यो बजेट जनताको पक्षमा नभएको र बिचौलियाको पक्षमा भएको कारण बजेटमाथिको छलफललाई प्रभावित पार्नको लागि संसद्को वातावरण धमिल्याईएको आरोप लगाए ।
साहले अहिलेको सरकारले देशलाई उजाड बनाएको आरोप लगाए । उनले भने, ‘नेपालबाट पैसा विदेश लैजान सहज हुने गरी सरकारले बजेट ल्याएको छ । विदेशमा थुपारिएको कालो धन ल्याउनुपर्नेमा उल्टै यहाँबाट पैसा विदेश लैजान भूमिका खेलेको छ । यो बजेटले नेपालको प्राकृतिक स्रोतको दुरुपयोग गर्नेछ । बजेटमाथि अनेकन प्रश्न उठ्न सक्ने भएकाले संसद्को वातावरण बिगारेर धमिलो पानीमा माछा मार्ने प्रयास भएको आरोप उनले लगाए ।