काठमाडौं, २ असार । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सभामुखका बारेमा टिप्प्णी गर्नेहरुलाई एकपटक आफ्नो अनुहार ऐनामा हेर्न आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुलाई अडानका नाममा संसदीय प्रक्रियालाई बन्धक नबनाउन भट्टराईले सुझाव दिएका हुन् ।
रास्वपाले संसदमा जारी राखेको अवरोधप्रति लक्षित गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका भट्टराईले रास्वपाले सभामुखका बारेमा आफ्नो सुविधा अनुसार व्याख्या गरेको भन्दै प्रश्न गरेका हुन् । ‘नाराबाजीका बीच संसद चल्नु राम्रो होइन तर के यो पहिलो पटक हो त ? विगतमा पनि प्रत्येक सभामुखका पालामा कुनै न कुनै दलले नारा लगाएकै थिए’ भट्टराईले फेसबुकमा लेखेका छन्, ‘वर्तमान सभामुखका बारेमा टिप्पणी गर्ने मिडिया वा महानुभावले पहिलेका सभामुखका बारेमा के लेखिएको थियो ? के बोलिएको थियो ? एकपटक आफैंलाई ऐनामा हेर्ने कि ?’
भट्टराईले नाराबाजीका बीच संसद चलेको यो पहिलोपटक नभएको रास्वपालाई स्मरण गराएका छन् ।
संसदमा नाराबाजी गर्ने सांसदहरुलाई उनले संसदीय प्रक्रियामा बहस गर्न निम्तो पनि दिए । भट्टराईले कस्ता विषयमा बैठक अवरुद्ध गर्ने ? सबैको सहमति कसरी बनाउने लगायतका विषयमा छलफल गर्न पनि आह्वान गरेका छन् ।
‘कस्ता विषयमा बैठक अवरुद्ध गर्ने ? सबैको सहमति कसरी बनाउने ? सहमतिको न्यूनतम आधार के लाई बनाउने ? बहुलवादी समाज र बहुदलीय प्रणाली भएका मुलकमा हरेक विषयमा सबैको सहमति हुनैपर्छ भन्ने ग्यारेन्टी कसले गर्छ ?’ भट्टराईले लेखेका छन्, ‘बहुमत र अल्पमतको अभ्यास कसरी गर्ने ? आउनुहोस् छलफल गरौँ ।’
भट्टराईले संसदलाई सकेसम्म सर्वस्वीकार्य प्रणाली स्थापित गर्नुपर्नेमा जोड दिए । तर अडानमा नाममा संसदीय प्रक्रियालाई नै बन्धक बनाउने नबनाउन उनले चेतावनी पनि दिएका छन् । सभामुख देवराज घिमिरेलाई दोष देखिरहेका रास्वपका सांसदलाई सचिव भट्टराईले सोधेका छन्, ‘दोषि सभामुख कि हाम्रो इगो ?’


