३ भदौ २०८३, बुधबार 1787165431
Banner

संसदमा रास्वपाको शैली : प्रतिपक्षी बोल्दा चुप, सत्तापक्ष बोल्दा नाराबाजी

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदमा नाराबाजी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु रोष्ट्रम अगाडि पलेंटी कसेर बसेका छन् । एमाले सांसद पदम गिरी बोल्दासम्म नारा लगाइरहेका उनीहरु माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बोल्न सुरु गरेपछि भने शान्तपूर्वक बसिरहेका छन् । उनीहरुलाई मर्यादापालकले घेरेर राखेका छन् ।

कुनै पनि एक जना सांसद उभिए पनि संसद बैठक नचल्ने प्रचलन भए पनि सभामुख देवराज घिमिरेले बैठक नियमित कार्यसूचीमा सन्चालन गरिरहेका छन् । बजेटमाथिको छलफल गर्ने र पारित गर्ने समयको चापका कारण बैठक चलाउनु परेको सभामुख घिमिरेको भनाइ छ । सभामुख घिमिरेले आइबार पनि विरोधका बीच बैठक सन्चालन गरेका थिए ।

आइतबार जस्तै सोमबार पनि सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आआफ्नो ठाउँबाट उठेका थिए । तर बैठक नरोकिएपछि रास्वपा सांसदहरु नाराबाजी गर्दै वेल अगाडि गए भने राप्रपा सांसदहरु बैठक कक्षबाट बाहिरिए । रास्वपा सांसदहरु वेल अगाडि बसिरहेका बेला संसद बैठकमा बजेटमाथिको छलफल जारी छ । माओवादी केन्द्रका सांसद शक्ति बस्नेत रोष्टममा पुगेर बोलिरहेका बेला नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले नियमापत्ति गरेका थिए ।

‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ’ थापाले भने, ‘माननीय सदस्यहरुका कुर्सी रोइरहेका छन्, कुर्सीले माननीय सदस्यहरु भेट्न पाइरहेका छैनन् ।’ थापा यति बोलेपछि रास्वपा सांसदहरुले फेरि नारा लगाउन थाले । तर सभामुख घिमिरेले थापाको कुराको ध्यानाकर्षण भएको बताए र शक्ति बस्नेतलाई आफ्ना भनाइ जारी राख्न भने । सभामुखको यो भनाइपछि थापा बसे र बस्नेत फेरि बोल्न सुरु गरे । रास्वपा सांसदहरु भने फेरि चुपचाप बसिरहे ।