काठमाडाैं – नेपाल सरकारले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा नगर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इजरायल र इरानबीच द्वन्द्व बढेकाले त्यस क्षेत्रकाे भ्रमण, ट्रान्जिट वा कामको लागि जाने तयारी गरिरहेकालाई हालको संवेदनशील अवस्थालाई ध्यानमा राखी योजना स्थगित गर्न आग्रह गरेको हाे ।

विज्ञप्तिमा भनिएको छ, ‘हालको असहज परिस्थितिमा इजरायल वा इरान बाहेकका मध्यपूर्वीय मुलुकतर्फको भ्रमण तथा वैदेशिक रोजगारीका लागि जान लागेका नेपाली नागरिकहरुले पनि यात्रा स्थगन गर्नु उपयुक्त हुनेछ।’
साथै मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हाल इजरायल र इरानबीच द्वन्द्व बढेकाले त्यहाँ रहेका नेपाली नागरिकहरूले सुरक्षाको पूर्ण ध्यान दिन, सम्भव भएसम्म भिडभाडयुक्त ठाउँमा नजान र स्थानीय सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न अनुरोध गरेको छ। साथै आवश्यक भएमा त्यहाँबाट निस्कन समेत सल्लाह दिइएको छ।
विशेष गरी इजरायल र इरानमा कार्यरत वा अध्यनरत नेपाली नागरिकहरूलाई निर्धारित समय बाहेक बाहिर ननिस्कन, दूतावास राजदूतावासको सम्पर्कमा रहन र नियमित रुपमा सार्वजनिक सूचना तथा सल्लाहहरू अनुगमन गर्न भनिएको छ।