३० कार्तिक २०८१, शुक्रबार 1731698358
राजनीति

अज्ञात समूहले गोरखाको मतदान केन्द्रमा गोली चलायो

गोरखा– स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्रअन्तर्गत सिद्वकाली माविमा गोली लागेर एक कर्मचारी घाइते भएकी छन् ।

मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवाद भएको थियो । विवादले उग्र रूप लिँदा स्थिति तनावग्रस्त बनेका बेला अज्ञात व्यक्तिले चलाएको गोली लागेर निर्वाचनमा खटिएकी कर्मचारी घाइते भएकी हुन् ।निर्वाचन अधिकृत खिमानन्द गौतमले अज्ञात व्यक्तिले गोली चलाएको र अनुसन्धान भइरहेको बताए । ५५ प्रतिशत मत खसिसकेको अवस्थामा स्थिति तनावग्रस्त बनेको गौतमको भनाइ छ । करिब साढे चार बजेदेखि यहाँ विवाद सिर्जना भएको हो ।

घटना स्थलमै भएका स्थानीय सुनिल लामिछानेले गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनीषा थापा घाइते भएकी बताए । २२ वर्षीया थापाको घुँडामुनि पिँडुलामा गोली लागेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

‘घाइतेको उपचारका लागि हेलिकोप्टर मगाएर काठमाडौं लैजाने तयारी भइरहेको छ । हेलिकोप्टर मगाइसकेका छौं’, आचार्यले भने ।