२८ असार २०८२, शनिबार 1752344670
Banner

डोटी दुर्घटना अपडेट : तीन जनाको मृत्यु, पाँच जना घाइते

डोटी – डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । घाइते चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको छ । आज दिउँसो १ः४० बजे आदर्श गाउँपालिका(१ खिराधारा धौलामाटीस्थित दिपायल–सायल सडक खण्डमा सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटनामा थियो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परी सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षकी हरुदेवि विक, जिप चालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षकी काली कटुवालको मृत्यु भएको छ ।

दुई जनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा ४ः१२ बजेको समयमा मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक काली गर्भवती रहेको खुलेको छ ।

दुर्घटनामा परी आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ बर्सिया अनिता विक, १६ वर्षकी स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमाना बस्ने २२ वर्षका कैलास विष्ट, १४ वर्षका दीपक विष्ट घाइते र मृतक काली कटुवालकी १० वर्षकी छोरी सविता कटुवाल घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए ।

घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दिपायलबाट मौवा तर्फ गइरहेको जिप सडक घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जिप सडकबाट करिब २५० मिटर तल खसेको छ ।