१० श्रावण २०८३, आइतबार 1785117367
पर्यटन

लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा ११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विशेष योग कार्यक्रम आयोजना गरिएको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा आयोजित यस कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती र युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो।

दुवै विशिष्ट अतिथिहरूले भगवान् बुद्धको पवित्र जन्मस्थलमा यस्तो विशेष कार्यक्रम आयोजना गरेकोमा भारतीय दूतावासलाई धन्यवाद दिँदै यसले नेपाल–भारतबिचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाएको उल्लेख गर्नुभयो।

कार्यक्रममा लुम्बिनी विकास कोषका उच्च पदाधिकारीहरूसँगै ५०० भन्दा बढी योग अभ्यासकर्ताहरूको उपस्थिति रहेको थियो।

नेपालका लागि भारतका राजदूत नवीन श्री वास्तवले योगको उत्पत्ति भारतमा भए तापनि आज यो विश्वव्यापी अभियान बनेको उल्लेख गर्नुभयो। उहाँले संयुक्त राष्ट्र सङ्घले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा घोषणा गरेपछि विश्वभर योगको प्रभाव झनै बढेको बताउनुभयो। लुम्बिनीजस्तो शान्ति, अहिंसा र सद्भावको प्रतीक स्थलमा योग दिवस मनाउनु विशेष अर्थपूर्ण रहेको उहाँले बताउनुभयो।

राजदूत श्री वास्तवले कार्यक्रम आयोजना गर्न सहयोग पुर्‍याएकोमा लुम्बिनी विकास कोषप्रति आभार प्रकट गर्नुभयो । उहाँले लुम्बिनीलाई वैश्विक आध्यात्मिक तथा धार्मिक गन्तव्यको रूपमा प्रवर्द्धन गर्न यस्तो कार्यक्रम सहयोगी हुने बताउनुभयो।

लुम्बिनीको कार्यक्रम नेपालका विभिन्न सहरहरूमा भारतीय दूतावासद्वारा आयोजना गरिएका योग कार्यक्रमहरूको एक हिस्सा हो, जसअन्तर्गत ११औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइँदै छ।

यसै क्रममा, भारतीय दूतावास र पोखरा महानगरपालिकाको सहकार्यमा भोलि पोखरा रङ्गशालामा विशेष योग कार्यक्रम आयोजना गरिने काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ।