२८ भदौ २०८३, आइतबार 1789330960
Banner

कर्णालीको समृद्धि कृषिबाटै सम्भव छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशको आर्थिक भविष्य कृषिमा टिकेको भन्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत खेती प्रणालीलाई त्यागेर आधुनिक र व्यावसायिक कृषिमा फड्को मार्न आह्वान गरेका छन्। ‎उनले कृषि अब गुजारा चलाउने माध्यम मात्र नभई, आम्दानी र रोजगारीको स्थायी स्रोत बन्नुपर्नेमा जोड दिएका छन्।

आइतबार अखिल नेपाल महिला सङ्घद्वारा सुर्खेतमा आयोजित राष्ट्रिय धान दिवसमा किसानहरूसँगै रोपाइँमा सहभागी हुँदै मुख्यमन्त्री कँडेलले भने, ‘कर्णालीको माटोमा सुन फलाउन सकिन्छ, तर त्यसका लागि हाम्रो सोच र काम गर्ने तरिका बदल्नुपर्छ। खेतीपातीलाई अब व्यवसायको मुख्य माध्यम बनाउन सरकार र किसान मिलेर लाग्नुपर्छ।’

‎‎उनले कर्णालीको विशिष्ट भौगोलिक अवस्थाले यहाँ विशेष बालीनालीको प्रचुर सम्भावना बोकेको बताए। यसको वैज्ञानिक व्यवस्थापन गर्न सके कृषि क्षेत्रबाटै कर्णालीको मुहार फेरिने उनको दाबी थियो। ‎‎प्रदेश सरकारले किसानलाई प्रोत्साहित गर्न कृषक पञ्जीकरण, सहुलियत ऋण, गुणस्तरीय बीउबिजन, मल खादको सहज उपलब्धता र सिँचाइ पूर्वाधारमा लगानी बढाएको पनि मुख्यमन्त्री कँडेलले जानकारी दिए।