१० श्रावण २०८३, आइतबार 1785072756
Banner

विनाशकारी बाढीका कारण १३ को मृत्यु, २० बालबालिका बेपत्ता

काठमाडौं : अमेरिकाको टेक्सासमा बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार २० बढी बालबालिका बेपत्ता भएका छन्। टेक्सासको हिल कन्ट्री क्षेत्रमा चार जुलाईमा आएको भीषण वर्षाका कारण ग्वाडालुप नदीमा अचानक बाढी आएको थियो।

जसकारण केर काउन्टीमा ‘विनाशकारी स्तर’ को बाढी निम्तिएको हो। टेक्सासका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले क्याम्प मिस्टिक, एक निजी क्रिश्चियन ग्रीष्मकालीन क्याम्पमा करिब ७५० बालिकामध्ये २३ जना बेपत्ता भएको बताएका छन्। उनले यो स्पष्ट गरेका छन् कि बेपत्ता हुनुको अर्थ ती बालबालिका मृत्यु भएको भन्ने होइन, बरु उनीहरू सम्पर्कविहीन भएका हुन सक्छन्।

खोजी तथा उद्धार कार्यमा नौ उद्धार टोली, १४ हेलिकप्टर, १२ ड्रोन र ५०० भन्दा बढी उद्धारकर्मीहरू संलग्न छन्। प्याट्रिकले भने, ‘हामी हरेक सम्भव प्रयास गरिरहेका छौं, र खोजी कार्य रातभर जारी रहनेछ।’ बाढीका कारण धेरै सडकहरू अवरुद्ध भएकाले उद्धार कार्यमा ढिलाइ भएको छ, र अभिभावकहरूसँग बेपत्ता बालबालिकालाई पुनर्मिलन गराउन अझै समय लाग्न सक्छ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाले पश्चिमी टेक्सासमा थप वर्षा र बाढीको जोखिम कायम रहेको चेतावनी दिएको छ। यो बाढी १९८७ को बाढीभन्दा पनि खतरनाक भएको र यो क्षेत्रलाई ‘फ्ल्यास फ्लड एली’ को रूपमा चिनिने बताइएको छ। किनभने यहाँको पातलो माटोले पानी सोस्न नसक्दा बाढीको जोखिम बढ्छ।

केर काउन्टीका शेरिफ ल्यारी लेइथाले १३ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। तर मृतकहरूको संख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ। स्थानीय अधिकारीहरूले बाढीको पूर्वसूचना प्रणाली नभएको र यो बाढी अप्रत्यासित भएको बताएका छन्। टेक्सासका गभर्नर ग्रेग अबोटले उद्धार कार्यका लागि राष्ट्रिय गार्ड, टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टी र अन्य स्रोतहरू परिचालन गरिएको बताएका छन्।