धनकुटा- यहाँको धनकुटा नगरपालिका वडा नं. १ स्थित ओक्मालुङ्गमा एक गुफा रहेको छ । नजिकै एक सानो छाँगो रहेको छ । यी दुवै स्थानलाई प्रवर्द्धन गर्न भन्दै प्रदेश सरकारमार्फत धनकुटा नगरपालिकाले करिब एक करोड रुपैयाँ खर्च गरेर पूर्वाधार निर्माण गर्यो ।

गुफासम्म पुग्न झोलुङ्गे पुल, सिँढी निर्माण गरिएको छ । त्यस्तै गुफाभित्र पनि सहजताको लागी ठाँउठाँउमा सिँढी निर्माण गरी बत्ती जडान गरिएको छ । नजिकै रहेको छाँगोमा पौडी खेल्न पोखरी, चौतारी, शौचालय लगायतको संरचना निर्माण गरिएको छ । वडा नं. १ कै हिले सिरानमा पनि एक भ्यु टावर, वडा नं. ८ को चुलिवन पार्क वडा नं. २ को मधुगंगाधाम विभिन्न संरचना तथा पूर्वाधार निर्माण गरिएको छ ।
धनकुटा नगरपालिका क्षेत्रमै यी बाहेक पर्यटन प्रवर्द्धनको लागि करोडौँ रुपैयाँ खर्च गरिएको छ । यो क्षेत्रलाई धनकुटाको एक मुख्य पर्यटकीय गन्तव्य बनाई धेरै भन्दा धरै पर्यटक भित्राउन नगरपालिकाले लगानी गरेको थियो ।
तर पालिकाको योजना विपरीत अहिले सो स्थानमा निक्कै कम मात्र पर्यटक पुग्ने गरेको छन् । तर, जुन आशा र अपेक्षा अनुसार पूर्वाधारमा लगानी गरिएको हो त्यो अनुसारको पर्यटक भित्रन सकेको छैनन् ।
प्रचारप्रसार र पर्यटकलाई गर्ने व्यवहारमा सुधार आएमा पर्यटक आउने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउनु भयो । प्रदेश सरकारले कोशी पर्यटन भ्रमण वर्षमा धनकुटालाई उचित ठाउँ दिएमा पर्यटकको आगमन बढ्ने तामाङको भनाइ छ ।
आन्तरिकसहित भारत विहारका पर्यटक तान्न विशेष योजना बनाउन आवश्यक रहेको तामाङको भनाइ छ । धनकुटा नगरपालिका बाहेकका अन्य स्थानीय तहमा पनि अवस्था उस्तै छ ।

धनकुटाको पाख्रिवास नगरपालिकामा ८ मा ३ करोड रुपैयाँ भन्दा बढी लगानीमा निर्माण गरिएको जलदेवी सिमसार, सुन्तले डाँडामा १ करोड रुपैयाँ भन्दा बढी लगानीमा निर्माण गरिएको पूर्वाधार तथा राम्चे डाँडामा निर्माण गरिएको पूर्वाधार प्रयोग विहीन छन् ।
यस्तै धनकुटाको छथर जोरपाटीमा लाखौँ रुपैयाँ खर्चिएर निर्माण गरिएको ध्वजे तथा पटेक डाँडा पुग्ने संरचनाको अवस्था समेत उस्तै छ । धनकुटाको महालक्ष्मीमा दुई करोड ८० लाख रुपैयाँ भन्दा बढी लागतमा निर्माण गरिएको वनझाँक्रि पार्कसहित अन्य पर्यटकीय पूर्वाधार प्रयोग विहीन बनेका छन् ।
स्थानीयको आवश्यकता भन्दा पनि पहुँचको भरमा निर्माण गरिँदा स्थानीयले अपनत्व ग्रहण गर्न नसक्दा पर्यटकीय पूर्वाधार प्रयोगविहीन बन्ने गरेको अर्थशास्त्र विषय उपप्राध्यापक भेषराज खत्रीले खत्रीले बताउनु भयो ।
उहाँका अनुसार अघिल्लो कार्यकालका जनप्रतिनिधिले निर्माण गरेका संरचना अहिलेका जनप्रतिनिधिले स्वीकार गर्न नसक्नु र प्रचारप्रसार नहुनु रहेको छ । स्थानीयको आवश्यकता भन्दा अनुपयुक्त ठाउँमा पूर्वाधार निर्माण हुँदा र स्थानीयले संरक्षण नगर्दा पूर्वाधार भत्कन थालेका छन् ।

पर्यटन पूर्वाधार निर्माण गरिए पनि त्यस पछिका प्रचारप्रसार लगायतका कार्य नगरिँदा पर्यटकको नजर पुग्न नसकेको कृषि तथा पर्यटन अभियन्ता जीवन कुमार राई बताउनु हुन्छ ।
देश बाहिर रहेका धनकुटेलीलाई प्रयोग गरेर बाह्य पर्यटक भित्र्याउन पहल गर्नुपर्ने राईको भनाइ छ । सेलिब्रेटी तथा पूर्व राष्ट्रपति वा पूर्व प्रधानमन्त्री ल्याएर प्रचार गर्नुपर्ने बताउनु भयो । उहाँले प्रचारसँगै भौतिक पूर्वाधारमा लगानी गर्नुपर्ने बताउनु भयो । कुनै ठाउँमा पर्यटक आफैँ आए पनि धेरै ठाउँमा प्रचारको आवश्यक रहेको उहाँको भनाइ छ ।

स्थानीय तहले प्रदेश तथा सङ्घ सरकारको सहयोग तथा सहकार्यमा पर्यटकीय स्थलको प्राथमिककरण नगरी पहुँचको भरमा पूर्वाधार निर्माण गर्दा यो अवस्था आएको धेरैको बुझाइ छ ।
अहिले अधिकांश पूर्वाधार निर्माण गरिएको स्थानमा पर्यटकको पाइलानै नपुगी भत्कने अवस्थामा पुगेका छन् । यस्तोमा पूर्वाधार निर्माण गरिएको स्थानमा पर्यटक भित्राउन प्रचारप्रसारका काम गर्न आवश्यक छ ।



