२२ बैशाख २०८३, मंगलबार 1778008400
फिचर

चौधरीको संघर्ष र सफलता : भैँसी गोठदेखि सिटीको स्टेयरिङसम्म

मोरङ । मोरङको बुढीगंगा–२ मा बिहानैको घाम झुल्किन नपाउँदै, श्याम कुमार चौधरीको आँखा खुल्छ । ५६ वर्षको उमेर पुगिसक्दा पनि उनको शरीरमा अझै उत्साह र जोश छ । प्रायः त्यस्तै उमेरका मानिसहरूमा कमै देखिन्छ । बिहान ९ बज्दा–नबज्दै उनी आफ्नो सिटी सफारी स्टार्ट गर्छन् । मोरङका सडकहरू, बजार र गल्लीहरूमा सिटी हाक्दै उनी दिनभर यात्रुहरूलाई गन्तव्यमा पुर्याउँछन् । राति करिब ११ बजेतिर मात्रै घर फर्किन्छन् ।

तर, चौधरीको परिचय यत्तिमा मात्रै सीमित छैन । उनी बुढीगंगा सिटी चालक संघका अध्यक्ष समेत हुन् । सहकर्मी चालकहरूको समस्या सुन्ने, समाधानका लागि सम्बन्धित निकायमा कुरा राख्ने, अनि चालकहरूलाई जिम्मेवारी र सुरक्षा बारे चेतना दिनेसम्मको काम उनी गर्छन् । चौधरीको जीवन सुरुबाटै सजिलो थिएन । उनी आफैँ भन्छन्, “सुकुम्बासी परिवारमा जन्मिएँ, थुप्रै संघर्ष देखेँ । तर, कहिल्यै हरेस खाइनँ ।”

बाल्यकालदेखि नै पढाइमा रुचि राख्ने श्यामले २०४२ सालमा नरग्राम माध्यमिक विद्यालयबाट एसएलसी पास गरे । त्यसपछि २०४४ सालमा महेन्द्र मोरङ क्याम्पसबाट आईए पास गर्दा गाउँभरि उनका लागि गर्वको कुरा थियो । त्यो समयका साथीहरूले उनलाई राजनीतिमा लाग्न सुझाए । उनकै मनमा पनि एउटा सपना थियो, राजनीतिबाट समाज परिवर्तन गर्ने ।

तर, त्यसबेला उनले सुनेको वाक्यले मन छोयो, “राजनीति त धनीले गर्ने हो, गरिबले होइन ।” आफू सुकुम्बासी भएकाले राजनीति गर्न नसकिने ठान्दै उनले राजनीतिभन्दा टाढा रहेर जीवनलाई अर्कै बाटोबाट अगाडि बढाउने निर्णय गरे । चौधरीले ६ वटा भैँसी पाले । बिहान बेलुकी गरेर दैनिक करिब १८० लिटर दूध बेच्थे । १७ वर्षसम्म उनले यो व्यवसायलाई निरन्तरता दिए । बुढीगंगाको खेतमा ५ विघा जमिनमा धान, तरकारी, गहुँ आदि लगाउँथे । त्यसैबाट छोराछोरीलाई पढाए, घरको खर्च चलाए ।

अनि उनले आफ्ना सपनालाई पनि विस्तारै बाँच्न थाले । “अरूले आईए पास गरेर जागिर खान्छन्, मैले किन भैँसी पालेर बस्नु ?” भन्ने आलोचना धेरै सुनिए । तर श्याम त्यसबाट डगमगाएनन् । उनी भन्छन्, “अरूको कुरा सुनेर बाँच्ने हो भने त आज म यहाँ हुने थिइनँ । म जुनसुकै काम गरे पनि मन लगाएर, बुझेर गर्छु ।”

श्यामका दुई सन्तान छन्—एक छोरा र एक छोरी । छोरा अहिले नेपाल प्रहरीमा छन्, छोरी भारतमा आँखा चिकित्सकका रूपमा अभ्यास गर्दैछिन् । छोरीलाई डाक्टर बनाउन उनले जुन मेहनत गरे, त्यसको कथा अझै स्मरण गर्छन् । “छोरीले पढ्न चाहिन्, मैले दुःख गरेँ, सिटी चलाएँ, दूध बेचेँ । तर, पढाइ रोकिन दिइनँ,” उनी भन्छन्, “अहिले उसलाई हेर्दा आफ्नै जीवनको ठूलो सफलताको अनुभूति हुन्छ ।”

चौधरीका लागि साँचो सम्पत्ति भनेकै छोराछोरीको शिक्षा र उनीहरूले कमाएको इज्जत हो । “मेरा लागि सम्पत्ति भनेकै यही हो,” उनी भन्छन्, “छोराछोरीलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाएँ, मलाई यही खुशीको कारण हो ।” २०७१ सालतिर कृषिबाट सिटी सफारीको यात्रामा मोडिए । सिटी चलाउन थालेपछि बिहानदेखि रातिसम्म यात्रु बोकेर शहर घुमाउँथे । यात्रुको गन्तव्यसम्म पुर्याउँदा उनीसँग रमाइला अनुभवहरू जोडिन थाले ।

चालक संघको अध्यक्ष भएपछिका दिनहरू अझै व्यस्त भए । सहकर्मी चालकहरूको समस्या बुझ्ने, समाधानका लागि सरकारी कार्यालय धाउने, अनि सिटी चालकहरूको तालिम र लाइसेन्सका विषयमा स्थानीय र प्रदेश सरकारसँग कुरा गर्ने जिम्मेवारी उनको काँधमा थपियो ।

तर, चौधरी अझै पनि इमान्दारी र आत्मसम्मानको बाटोमा अडिग छन् । उनी भन्छन्, “म आज पनि छोराछोरीको कमाइ नखाई, आफैँले काम गर्छु । शरीरलाई स्वस्थ राख्नको लागि पनि निरन्तर काममा लाग्ने अठोट छ ।”

सडकमा सिटी चलाउँदा कहिलेकाहीँ ठूला सवारीका कारण सानो सवारीलाई असुविधा हुने उनी बताउँछन् । अझै धेरै सिटी चालकले आवश्यक तालिम नपाउँदा लाइसेन्स पाउन समस्या भइरहेको उनको भनाई छ । “अब प्रदेश सरकारले कानुन बनाएर लाइसेन्स दिन लागेको छ, यो राम्रो कुरा हो,” उनी भन्छन्, “तर कुरा भन्दा छिटो कार्यान्वयन भए धेरै चालकलाई राहत पुग्ने थियो ।”

चौधरीको जीवन एउटा उदाहरण हो—सुकुम्बासी परिवारमा जन्मिएर पनि कसरी परिश्रम, इमान्दारी र दृढताबाट जीवनलाई सम्मानित बनाइन्छ भन्ने । कृषक भएर खेतमै पसिना बगाए, दूध बेचेर घर चलाए । अनि सिटी चलाउँदै छोराछोरीलाई उज्वल भविष्य दिए । उनी भन्छन्, “स्वस्थ शरीर नै सबैभन्दा ठूलो धन हो । काम गर्न सकुन्जेल काम गर्छु, यही नै मेरो खुशी हो ।”