काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । गभर्नर डा. विश्वनाथ पौडेलले आज दिउँसो आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नेछन् ।
मौद्रिक नीतिको मस्यौदा तयार पारी सकेका गभर्नरले हिजो बिहीबार दिउँसो व्यवस्थापन समितिको बैठक बसेर नीतिमा छलफल गरेका थिए । बिहीबार साँझ उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेका थिए । त्यसपछि बिहीबार साँझ नै तयारी सञ्चालक समितिको बैठक डाकेका थिए । बैठकमा धेरै कुरा टुंगिएको बताइएको छ । त्यसपछि मौद्रिक नीतिलाई अन्तिम रूप दिन अहिले राष्ट्र बैंक सञ्चालक समितिमा बैठक बसिरहेको छ । बैठक टुंगिएपछि आजै दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैकले जनाएको छ ।
अघिल्ला वर्षहरूमा प्रायः साउन पहिलो सातादेखि मौद्रिक नीति आउने गरेकोमा यस वर्ष नयाँ गभर्नर पौडेलले आफ्नो पहिलो नीति असारभित्रै ल्याउन लागेका हुन् । बजेट साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको हो ।


