३१ श्रावण २०८३, आइतबार 1786923701
Banner

काठमाडौं महानगरपालिकाले आज बजेट ल्याउँर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बजेट ल्याउँदै छ।

शुक्रबार बसेको महानगर कार्यपालिकाको बैठकबाट बजेट ल्याउन आज दिउँसो २ बजे बस्ने गरी नगरसभा आह्वान गरिएको छ।

उक्त कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह बालेनले नगरसभा बोलाउने प्रस्ताव गरेका थिए। उपस्थित कार्यपालिका सदस्यले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो।

लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरेका थिए। त्यो दिन कार्यपालिका बैठक करिब एक मिनेटमै सकिएको थियो।

महानगरले करिब २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउनेछ। शुक्रबारनै बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकबाट अनुमानित आय र खर्चका आधारमा बजेटको सीमा निर्धारण गरिएको हो।

नगरसभाअघि आजै बिहान ९ बजे कार्यपालिकाको बैठक बस्ने महानगरले जनाएको छ।