काठमाडौँ । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयक कोमामा रहेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै उनले आजभोलि संसद र समितिमा रहेका अख्तियार, निजामति विधेयक, शिक्षा विधेयक र भूमि विधेयकको व्यापक चर्चा भइरहेको उल्लेख गरे । कानून निर्माण प्रक्रियालाई हलुका ढंगबाट लिने प्रवृत्तिका कारण आम जनताले प्रश्न गरिरहेको उनको भनाइ छ ।
उनले भने, ‘आजभोलि संसद र समितिमा रहेका अख्तियार, निजामति विधेयक, शिक्षा विधेयक र भूमि विधेयकको व्यापक चर्चा भइरहेको छ । म पनि के आग्रह गर्न चाहन्छु भने कानून निर्माण प्रक्रियालाई हल्का ढंगले लिँदा हाम्रा प्रवृत्तिले गर्दा आज नागरिकहरुले हामीलाई प्रश्न गरिरहेका छन् । भ्रष्टाचारको कुरा आज सदनमा व्यापक उठिरहेको छ ।
एउटा उपसमितिले धेरै मेहनत गरेर भ्रष्टाचार र अख्तियारको विधेयक तयार गरेको हो । तर भ्रष्टाचारको विधेयक समितिबाट छलफल हुँदाहुँदै चैत्र ३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भयो । अख्तियारको विधेयक ६ महिनादेखि समितिमा थन्किएर बसिरहेको छ । मेरो भाषमा अख्तियारको विधेयक अहिले पनि कोमामा छ ।’ सांसद थानीले आज मुलुकमा भ्रष्टाचार कहाँ छ होइन, कहाँ छैन भन्ने परिस्थिति पुगेको बताए ।


