काठमाडौँ , ३० असार । नेपाल बौद्धिक परिषद्को ११औँ महाधिवेशनपछि सम्पन्न केन्द्रीय कमिटीको दोस्रो बैठकले समसामयिक राजनीतिक तथा जनजीविकाका विषयमा पारित गरेका आठबुँदे विशेष प्रस्ताव आज सार्वजनिक गरेको छ । परिषद्ले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै गत जेठ १८ गते सम्पन्न केन्द्रीय महाधिवेशनपछि असार २८ गते पारित प्रस्तावहरु सार्वजनिक गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट जनसङ्गठनका रुपमा स्थापना भएको परिषद्ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक स्थिरता, विकास र समृद्धिका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गर्दै आगामी दिनमा सुशासन, सामाजिक न्याय, विकास समृद्धि र जनजीविकाका सवालहरुलाई प्राथमिकतामा राखेर अघि बढ्न सरकारलाई सुझाव दिएको छ ।
त्यस्तै, परिषद्ले अहिले सामाजिक सञ्जालमा गलत र भ्रमपूर्ण सूचना प्रवाह भइरहेको र भीडका आडमा कानुन प्रभावित पार्न खोज्ने गतिविधि भइरहेकातर्फ ध्यानाकर्षण गराउँदै यसले गणतन्त्रप्रति नै वितृष्णा फैलाउने जोखिम रहेकातर्फ नेपाल सरकार, विभिन्न राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज र आम बुद्धिजीवीसँग अनुरोध गरेको छ । परिषद्ले नेकपा (एमाले)को भदौमा हुने विधान अधिवेशनलाई प्रभावकारी रुपमा सम्पन्न गराउनुपर्ने आवश्यकता औँल्याउँदै गणतन्त्रमाथि भइरहेको प्रहारको भत्र्सना पनि गरेको छ । परिषद् बैठकले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत र दिगो बनाउन सरकार र सबै दलसँग अपिल गरेको छ । यस्तै, युवाको बढ्दो वैदेशिक पलायन रोक्न, जनजीविकाको विषयमा गम्भीर हुन, स्वास्थ्य, शिक्षा र रोजगारीमा सर्वसाधारण नागरिकको पहुँच पुर्याउन, पछाडि परेका समुदायको उत्थान गर्न तथा संविधानप्रदत्त मौलिक हक व्यावहारिक रुपमा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
यस्तै, मनसुनी विपद्बाट रसुवालगायतका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएकोतर्फ ध्यानाकर्षण गराउँदै परिषद्ले पीडितहरुलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन तथा प्रभावकारी पुनः स्थापनका लागि सरकारसँग माग गरेको छ । पत्रकार सम्मेलनमा परिषद्की प्रचारसचिव टीका ढकालले राष्ट्रको हित, एमाले पार्टीको अभियानमा सहयोग तथा परिषद्को क्षमता विस्तारमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष ई. गजेन्द्र थपलियाले राष्ट्रलाई सुशासनको पक्षमा लैजान, भ्रष्टाचार न्यूनीकरणमा योगदान दिन र एमाले पार्टीको बृहत्तर हितका विषयमा आवश्यक सुझाव दिनेगरी परिषद्ले काम गर्ने जानकारी दिनुभयो ।
एमालेको आगामी भदौमा हुन लागेको विधान अधिवेशनका लागि पनि आफूहरुले सुझाव दिने उहाँले बताउनुभयो । अध्यक्ष थपलियाले एमालेका नेताको आचारणका विषयसहति पार्टीमा भइरहेका असल अभ्यासको संरक्षण र गलत क्रियाकलापप्रति खबरदारीसहितको सुझाव दिने र पार्टीका निर्णयहरुको समेत अध्ययनअनुसन्धान गरी कमजोरी औँल्याउँदै सुझाव दिनेगरी परिषद्ले काम गर्ने बताउनुभयो । आगामी दिनमा माक्सवादी स्कुल नियमित रुपमा सञ्चालन गर्ने, दक्षिण एसियाली प्रगतिशील बुद्धिजीवीहरुको सम्मेलन आयोजना गर्ने, समृद्ध नेपाल, खुसी नेपालीको विस्तृत अवधारणा निर्माण गर्ने, बौद्धिक बहसलाई विस्तार गर्नेलगायतका काममा परिषद् सक्रिय रहने अध्यक्ष ई.थपलियाले जानकारी दिनुभयो ।


