भोजपुर । भोजपुरस्थित अरुण गाउँपालिकामा भारतीय सहयोगमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माण हुने भएको छ । सो भवन निर्माणका लागि मंगलबार अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर अविनाशकुमार सिंहले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३.१८८ करोड रुपैयाँको लागतमा सो भवन बन्न लागेको हो । कक्षा कोठा, शिक्षक कक्ष, बैठक कक्ष, कार्यक्रम हल, छात्रा एवम् छात्रका लागि छुट्टाछुट्टै शौचालय र अन्य सहयोगी संरचनासहितको तीनतले भवन निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

अरुण गाउँपालिकाका अध्यक्ष र राजनीतिक प्रतिनिधिहरूले नेपालको उन्नति र विकासका लागि भारत सरकारले प्रदान गरिरहेको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५७० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाएको छ ।

यीमध्ये ९३ वटा परियोजनाहरू कोशी प्रदेशमा छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १०४९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ । जसमध्ये ७ वटा एम्बुलेन्स र एउटा स्कुल बस भोजपुरमा उपहार स्वरुप प्रदान गरिएको छ ।


