३१ श्रावण २०८३, आइतबार 1786916420
समाचार

समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीले हर्जाना तिर्दै काम गरिरहेका छन् : प्रधानमन्त्री

काठमाडौं, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । समयमै निर्माण सम्पन्न नभएपछि जिम्मेवारी लिएका निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीका अनुसार निर्माणमा ढिलाइ हुनामा वर्षा र अन्य प्राविधिक कारण रहेका छन् । यद्यपि, सरकारले कामको गुणस्तरमा सम्झौता नगर्ने नीति अनुरूप अब परिणाममुखी कार्यशैली अपनाइएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ, तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको छ, तीन सिफ्टमा काम गर्दा पनि वर्षा लगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन् ।

प्रधानमन्त्री ओलीले अबका दिनमा सरकारी निर्माण आयोजनामा ढिलाइ र लापरबाही नस्विकारिने स्पष्ट पारेका छन् । ‘अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको छ, सरकारी निर्माणसम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौँ’, प्रधानमन्त्री ओलीले भने ।

कीर्तिपुर रङ्गशालाको निर्माणलाई समयमै सम्पन्न गर्ने लक्ष्यसहित सरकारले निर्माण कम्पनीलाई प्रोत्साहन र निगरानी दुवै तीव्र बनाएको छ । काम गर्नेलाई अवसर, ढिलाइ गर्नेलाई दण्डको नीति अब सशक्त रूपमा कार्यान्वयन गरिने प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।