काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा सुनको मूल्य प्रतितोला ४४ हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ । गत आर्थिक वर्षको २०८१/८२ को पहिलो दिन साउन १ गते सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । गत साउन १ गते छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको थियो । २०८०/८१ को अन्तिम दिन असार ३१ गते प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
तर पछिल्लो एक आर्थिक वर्षमा छापावाल सुनको मूल्य प्रतितोला ४४ हजार पाँच रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आर्थिक वर्ष २०८१/०८२ को अन्तिम दिन अर्थात असार ३२ गतेको तुलनामा सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य ५ रुपैयाँले बढेर कारोबार भएको छ । जसअनुसार बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबारको दिन बुधवार सोही सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँ थियो ।
२०८१ साल मङ्सिरमा सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो। २०८१ कात्तिकमा १ लाख ७१ हजार रुपैयाँ पुगेको सुनको मूल्य सरकारको उक्त निर्णयपछि मंसिर ११ गते १ लाख ४८ हजार ७ सय रुपैयाँसम्म झरेको थियो। २०८१ को अन्त्यमा चैत ३१ गते भने सुनको मूल्य १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो । सरकारले बजेटमा व्यवस्था गरेको आर्थिक ऐन अनुसार सुनचाँदीमा आजैदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ ।
चाँदी ३९० रुपैयाँले बढ्यो
त्यस्तै, चाँदीको मूल्य पनि आर्थिक वर्ष २०८१/८२को पहिलो कारोबारको दिन गत साउन १ गते प्रतितोला १० रुपैयाँले घटेर १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो । आर्थिक २०८१/८२ को अन्तिम कारोबारको दिन बुधवार २ हजार २६० रुपैयाँ कायम भएको थियो । तर नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार बढेर तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको छ । यसरी हेर्दा पछिल्लो एक आर्थिक वर्षमा चाँदीको ३९० रुपैयाँले बढेको छ ।


