पोखरा । शनिबार रातिदेखिको अबिरल वर्षाका कारण कास्कीका विभिन्न ठाउँमा घर बगाएको छ । पोखरा २० भलाममा सूर्य बास्तोलाको सातकोठे ब्लकको घर पहिरोमा पुरिएको छ । ३ कोठा पूर्ण रूपमा पुरिँदा नगद, सिक्री र अरू सामान क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै, पोखरा १३ काहुँखोला नहरको बहाव बढ्दा दिपा लामाको एकतले घरको २ कोठा बगाएको कास्की प्रहरीले जनाएको छ । घरका धनीहरू पहिले नै भागेका कारण मानवीय क्षति हुन नपाएको डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । कास्कीका सबै नदी र खोलाको बहाव बढेको छ । यात्रा गर्दा सचेत रहन प्रहरीको सुझाव छ ।


