काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय राजनीतिबारे छलफल भएको बताएकी छन् ।

ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा आज उनीहरुबीच ‘वान टू वान’ भेटवार्ता भएको हो ।
भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिक विषयवस्तुमाथि छलफल भएको जानकारी दिइन् । “उहाँसँग राष्ट्रिय राजनीतिका विषयमा मात्र कुराकानी भयो”, उनले सञ्चारकर्मीलाई भनिन्, “अरू विषय आधिकारिक च्यानलबाट थाहा पाउनुहुनेछ ।”
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको जानकारी दिइन् । उनीहरूबीच करिब २ घण्टा कुराकानी भएको हो । पूर्वराष्ट्रपति भण्डारी जिम्मेवारीबाट बाहिरिएपछि पहिलोपटक एमाले मुख्यालय च्यासल पुगेकी हुन् ।


