काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई नेपालको संविधानको स्पिरिटअनुसार पूर्व राष्ट्रपतिहरु सक्रिय राजनीतिमा फर्किएर दलको सङ्कीर्ण घेराभित्र बस्न नहुने बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रको प्रमुख, राष्ट्रको अध्यक्ष, संविधानको संरक्षक, नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति दलको राजनीतिमा फर्किन नहुने बताएका हुन् ।
उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किएको विषयलाई ‘भयानक अप्रजातान्त्रिक र पदलोलुपताको विषय’ भनेका छन् । ‘पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने कुरा अहिले गम्भीर रूपमा विषय उठेको छ । हाम्रो संविधान कम्युनिस्ट सत्ताको प्रतिनिधित्व गर्ने संविधान होइन,’ उनले भने-‘यो बहुदलीय र डेमोक्रेटिक तरिकाले निर्माण गरिएको हुनाले यो संविधानअन्तर्गत राष्ट्रको प्रमुख, राष्ट्रको अध्यक्ष, संविधानको संरक्षक दलहरूकै सिफारिसमा भए पनि प्रधानमन्त्रीसमेतको नियुक्ति गर्ने मानिस, दलको सदस्यता पनि त्यागेर देशको सर्वोच्च पदमा आसीन भएको मानिस चाहिँ फेरि दलको सदस्यता खोज्दै राजनीतिमा फर्किने कुरा हाम्रो संविधानको स्पिरिट हो भन्ने चाहिँ मलाई लाग्दैन । यो भयानक अप्रजातान्त्रिक र पदलोलुपताको विषय हो भन्ने मैले बुझ्छु ।’
साथै उनले अहिले देशको अस्थिरताको प्रमुख कारक संविधानमा रहेको निर्वाचन प्रणाली रहेको बताए । निर्वाचन प्रणालीमा संशोधन गरेर स्थिर सरकार बन्ने बाटोतर्फ देशलाई नलगेसम्म सरकारहरू अदल–बदल भइरहने र दलभित्र पनि चलखेल चलिरहने बताए । फरक प्रसङ्गमा उनले कांग्रेसको १५ औँ महाधिवेशन विधानले दिएको अवधिभित्रै हुने बताए । ढिलोमा २०८३ मङ्सिरभित्र कांग्रेसको १५ औँ महाधिवेशन हुने उनको दाबी छ । महाधिवेशन गराउने कुरामा कसैले आलटाल गर्न नहुने र त्यो छुट कसैलाई पनि नरहेको उनले बताए ।


