सोलु । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै दोस्रो ठूलो ८२ मेगावाटको तल्लो सोलुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सोलुखुम्बुमा निर्माण सम्पन्न भएको आयोजनाको पहिलो युनिटको विद्युत् साउन ४ गतेबाट प्रणालीमा जोडिएको हो । यो आयोजना सोलु हाइड्रो पावर लिमिटेडले निर्माण गरेको हो । लाम्मानेस्थित सोलु करिडोरको १३२ केभि प्रसारण लाइनमा जोडिएको छ।

नेदरल्याण्ड्सको एफएमओ बैंकको करिब १७ अर्ब ऋण लगानीमा निर्माण गरिएको हो । सो परियोजनाबाट वर्षायाममा ८२ मेगावाट र हिउँदयाममा न्यूनतम २० देखि २२ मेगावाट विद्युत् उत्पादन हुने परियोजनाका सहायक प्रबन्धक कृष्ण चौधरीले जानकारी दिए।
आयोजनामा ४१ मेगावाट क्षमताका दुई वटा पेल्टन टर्वाइन जडान गरिएको छ । दुवै युनिट ग्रिडमा जोडियो र परीक्षणको कार्य सफलता साथ सम्पन्न भयो । अब नेपाल विद्युत् प्राधिकरणले १५ दिन उत्पादन परीक्षण गर्नेछ । ‘आयोजनाको दुवै युनिटको परीक्षण बुधबारसम्म सकिन्छ, त्यसपछि मात्र प्राधिकरणले उत्पादन परीक्षण गर्नेछ । प्राधिकरणले १५ दिन परीक्षण पूरा गरेपछि व्यवसायीक विद्युत् उत्पादन सुरु हुनेछ’ उनले भने ।

सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलु खोलामा बाँध निर्माण गरी पानी संकलन गरिएको छ । उक्त पानी करिब ६ किलोमिटर टाढाको तिङ्लाको भदौरेस्थित पावर हाउसमा झारेर विद्युत् उत्पादन गरिएको छ । यसका लागि करिब ५ किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ । भौगोलिक कठिनाइ र लामो सुरुङमार्गका कारण अनुमानित लागतभन्दा अधिक खर्च हुनसक्ने अनुमान छ ।
यसअघि भौगर्भिक अवस्थाका कारण पहिरोले निर्माण अन्तिम चरणमा पुगेको सतही भेल्वहाउस र पेनस्टकमा क्षति पुर्याएको थियो । जसका कारण भूमिगत भेल्वहाउस र भूमिगत होराइजोन्टल र भर्टिकल प्रेसर साफ्ट सम्पूर्ण नयाँ निर्माण गरिएको हो ।
उत्पादित विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ‘सुपर सिक्स’ अन्तर्गत निर्माण गरिएको हो ।
निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दूधकोसी सञ्चालनमा छ ।


