नारायणगढ (चितवन), १० साउन । बढ्दो सहरीकरण र घाम बढी पर्ने क्षेत्रको अवस्थालाई ध्यानमा राखेर सौर्य ऊर्जा प्रयोग र ऊर्जा दक्ष घर निर्माणलाई प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् । ऊर्जा उत्पादनभन्दा ऊर्जा बचत तुलनात्मक रूपमा सस्तो र प्रभावकारी हुने भएकाले यसले हरितगृह ग्यास उत्सर्जन घटाउन र वातावरणमैत्री दिगो विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । युरोपियन युनियनअन्तर्गत सञ्चालनमा रहेको स्विच एसिया कार्यक्रममा बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बिइएन)द्वारा भरतपुर महानगरपालिकाका प्राविधिक तथा यस क्षेत्रका इञ्जिनियरहरूको लागि आयोजना गरिएको अभिमुखीकरण तथा तालिम कार्यक्रममा सरोकारवालाले बताएका छन् । भरतपुर महानगर कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले वातावरण र ऊर्जामैत्री घर निर्माण गरी बढ्दो हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले घर वा भवन निर्माण गर्दा स्थानीय हावापानीअनुसार बनाउनुपर्ने बताउनुभयो । भरतपुरमा समेत त्यसका लागि पूर्वाधार तयार भएको उल्लेख गर्दै उहाँले विकासका कामहरू वातावरणीय प्रभाव नगरी गर्नुपर्नेमा जोड दिनुभयो ।
प्राकृतिक स्रोत र सम्पदालाई ध्यानमा राखेर विकास तथा भौतिक संरचना निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले पहिलेजस्तो ठूलो क्षेत्रफलमा घर बनाउने क्रम घटेको र अहिले साना क्षेत्रफलमा घर बनाउँदा वातावरणीय प्रभावले स्वास्थ्यमा असर पु¥याउने खालका घरहरू बन्न थालेको बताउनुभयो । उहाँले तीव्र सहरीकरण र आधुनिक जीवनशैलीका कारण घरभित्र तताउने वा चिस्याउने उपकरणहरूको स्थानीय ऊर्जा खपत बढिरहेकाले यो विषयमा महानगरले ध्यान दिनुपर्ने अवस्था आएको जानकारी दिनुभयो । उहाँले घर बनाउँदा बलियो मात्र होइन, ऊर्जा दक्ष घर कसरी बनाउने र स्वच्छ ऊर्जा प्रयोग कसरी बढाउने भन्ने चेतना प्राविधिकहरूले घरवासीहरूमा जगाउनुपर्ने पनि बताउनुभयो । भरतपुर महानगर पूर्वाधार महाशाखा प्रमुख सन्तोष आचार्यले वातावरणमैत्री तथा ऊर्जा प्रभावकारी भवन निर्माणका लागि मापदण्ड बनाएर महानगर अघि बढेको जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाले ऊर्जा प्रभावकारी भवन निर्माण कार्यविधि २०८२ स्वीकृत गरेको र बिइएनसँग सम्झौता भइसकेको जानकारी पनि दिनुभयो । महानगरको दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधि र अभ्यासहरू अवलम्बन गर्ने योजना रहेको उहाँले बताउनुभयो । एसोसिएसन अफ कन्सल्टिङ इञ्जिनियर्स भरतपुरका अध्यक्ष इ विष्णु अधिकारीले बिइएन परियोजनाले सिक्ने र सिकाउने अवसर प्रदान गरेको उल्लेख गर्दै भवन तथा अन्य पूर्वाधारको डिजाइन गर्दा ऊर्जा दक्षता र वातावरणमैत्री मापदण्ड अवलम्बन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बिइएनकी परियोजना आर्किटेक्ट सङ्गीता थापा मगरले ऊर्जा दक्ष तथा नवीकरणीय ऊर्जा प्रयोग जडित भवन भनेको कम ऊर्जा प्रयोग गरी उच्च कार्यसम्पादन हासिल गर्ने प्रविधि भएको जानकारी दिनुभयो । जलवायु परिवर्तन न्यूनीकरण र दिगो विकासका लक्ष्य पूरा गर्न सहरलाई दिगो र ऊर्जा दक्ष बनाउनु अत्यावश्यक रहेको उहाँको भनाइ थियो । उहाँले युरोपियन युनियनको सहयोगमा सञ्चालित बिइएन परियोजनाले नेपालका ७० वटा स्थानीय तहसँग समन्वय गरी ३४ स्थानमा नीति रूपमा कार्यान्वयन भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिकाले पनि यसलाई नीतिगत रूपमा अवलम्बन गरिसकेको र प्राविधिकहरूलाई दक्ष बनाउँदै जलवायुमैत्री भवनहरूको डिजाइन, निर्माण र जीर्णोद्धारलाई प्रोत्साहन गरी दिगो निर्माण अभ्यासलाई अघि बढाउने छ । ऊर्जा मैत्री भवन स्वास्थ्यका हिसाबले पनि राम्रो हुने उहाँको भनाइ थियो । घर निर्माण, सञ्चालन र मर्मतसम्भारमा व्यापक ऊर्जा प्रयोग हुने भएकाले घरमा प्रयोग भएको ऊर्जा परिमाणलाई विकसित समाजको मापकका रूपमा हेरिने उल्लेख गर्नुभयो । स्थानीय जलवायु अवस्थालाई ध्यानमा राखेर घर निर्माण गर्नुपर्ने हुँदा यसले आरामदायी, निरोगी र कम खर्चिलो आवास दिने परियोजना आर्किटेक्ट मगरले बताउनुभयो । तालिममार्फत यहाँका इञ्जिनियरहरूलाई नयाँ प्रविधि र मापदण्डबारे जानकारी गराइएको कार्यक्रमका फोकल पर्सन गेहेन्द्र आचार्यले जानकारी दिनुभयो । यसअन्तर्गत तीन दिनसम्म भरतपुरका विभिन्न घर, भवन र पूर्वाधारमा काम गर्ने ६० जना प्राविधिकलाई अभिमुखीकरण र तालिम दिइने उहाँले बताउनुभयो ।


