काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज काठमाडौं सितापाइलाको सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा सम्बोधन गरेका छन्। सम्बोधनको क्रममा उनले वर्तमान सत्ता र प्रतिपक्ष दुवैप्रति कडा टिप्पणी गरे।
दाहालले विशेष गरी शिक्षक आन्दोलन, शिक्षा विधेयक र हालको राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको भूमिका स्पष्ट पार्दै भने, ‘शिक्षकहरूले सडकमा आउनु नपर्ने अवस्था संविधानले नै सुनिश्चित गर्यो, तर त्यसअनुसार कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भए।माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरू अपमानित हुन पर्दैनथ्यो।’
उनले पछिल्लो पटक आफू नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न तत्परता नदेखाएको भन्दै असन्तोष व्यक्त गरे। ‘सरकार तयार नभएपछि तपाईंहरू (शिक्षकहरू) सडकमा रहनुपर्यो, आन्दोलनमा हुनु भयो। तर सरकारको नेतृत्वबाट अपमानजनक व्यवहार भयो,’ उनको भनाइ थियो।
शिक्षा विधेयकको सन्दर्भमा बोल्दै उनले संसदमा विधेयकमाथि गरिएको छेडछाडप्रति आपत्ति जनाउँदै भने, ‘हामी सरकारमा हुँदा शिक्षकका माग समेटिएको विधेयक अगाडि बढाएका थियौं, तर अहिले त्यसमा सडयन्त्र गरिएको छ।’
दाहालले संघीय निजामती सेवा ऐनमा गरिएको संशोधनलाई पनि राजनीतिक रूपमा जोड्दै कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो भन्ने टिप्पणी गरे। उनले एमालेका सांसदहरूले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले उठाएको शंका पुष्टि भएको बताए।
राजनीतिक संकटबारे चर्चा गर्दै उनले कांग्रेस र एमाले दुवै पार्टीमा वैचारिक नेतृत्वको खडेरी रहेको समेत बताए। ‘एमालेभित्र वैचारिक संकट छ, जवजको उत्तराधिकारीको अन्योल छ,’ उनले भने। अध्यक्ष ओलीले मदन भण्डारीसम्बन्धी बोलेका कथित अभिव्यक्तिहरूलाई समेत उनले आलोचना गर्दै वैचारिक दिशाहीनता देखिएको भनाइ दाहालले राखे। उनले माओवादी केन्द्र भने अहिले पनि जनतासँग जोडिने प्रयासमा सक्रिय रहेको बताए।


