पेप्सी-कोकजस्ता बहुराष्ट्रिय कम्पनीका पेय पदार्थ बजारमा छ्यापछ्यापी छन् । गर्मीमा त झन् धेरै यी पेय पदार्थ धेरै बिक्री हुने गरेका छन् । तर, पछिल्लो समय मानिसहरूले अर्गानिक पेय पदार्थ खोज्न थालेका छन् ।
यसैमध्येको एक हो, ‘बेला’ ब्रान्डको मोही । झापाको गौरादहबाट शुरू भएको ‘बेला’ ब्रान्डले पूर्वी नेपालका उपभोक्ताको ध्यान खिच्न थालेको छ । स्वदेशी, स्वस्थ र प्राकृतिक स्वादको बेला मोहीले पूर्वी नेपालको गर्मीमा सितलता दिइरहेको छ । इस्टर्न वेभरेज प्रालि र यसका सञ्चालक दाजुभाइ रामचन्द्र र चिरञ्जीवी प्रसाईंले मोहीलाई ब्रान्डिङ गरिरहेका छन् ।
आफ्नो गाउँ ठाउँका किसानले उत्पादन गरेको दूध खेर नजाओस् र स्थानीय स्तरमै रोजगारी सिर्जना होस् भन्ने उद्देश्यले उनीहरूले आफ्नै जन्मथलो गौरादह–७ मा डेरी उद्योग स्थापना गरेका हुन् । यसअघि ‘बेला’ ब्रान्डमै पानी उत्पादन गरेर बजारमा स्थापित भइसकेका प्रसाईं दाजुभाइले अब डेरी उत्पादनमार्फत् उपभोक्ताको मन जित्ने लक्ष्य राखेका छन् ।
‘अहिले बजारमा कोक, फेन्टाजस्ता पेय पदार्थ छ्यापछ्यापी छन् । यस्तो बेला हामीले एउटा स्वस्थ विकल्प दिन खोजेका हौं,’ कम्पनीका बजार व्यवस्थापक भवानी शंकर सिवाकोटी भन्छन्, ‘मानिसहरू केमिकल मिश्रित पेय पदार्थको विकल्प खोजिरहेका छन् । हाम्रो मोही शुद्ध र प्राकृतिक छ । यसमा कुनै मिसावट छैन, त्यसैले हामीलाई बजारमा स्थापित हुन गाह्रो छैन भन्ने विश्वास छ ।’
मोहीले छोटो समयमै बजारबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए । कम्पनीले हाल दैनिक ४ हजार बोतल अर्थात् २ हजार लिटर मोही उत्पादन गरिरहेको छ । उपभोक्ताको स्वादलाई ध्यानमा राख्दै सादा (नर्मल) र गुलियोगरी दुई प्रकारका मोही बजारमा उपलब्ध छन् ।
गुलियो मोही विशेषगरी कोक–फेन्टाको स्वादमा अभ्यस्त युवा पुस्तालाई लक्षित गरेर उत्पादन गरिएको हो ।
पूर्वीनेपालका प्रमुख बजार धरान, इटहरी, विराटनगरदेखि दमक, बिर्तामोडसम्म बेला मोहीको पहुँच विस्तार भइसकेको छ । धरान यसको सबैभन्दा ठूलो बजार हो, जहाँ दैनिक ८०० देखि ९०० बोतल खपत हुन्छ । पूर्वका सबै भाटभटेनी सुपर मार्केटहरूमा समेत यसको उपस्थिति छ । ब्रान्डको विश्वसनीयता बढेका कारण मागअनुसार पुर्याउन नसकिएको सिवाकोटीले बताए । कम्पनीले बोतलको मूल्य ३० रुपैयाँ तोकेको छ भने खुद्रा बिक्रेताले उपभोक्तालाई ३५ रुपैयाँमा बिक्री गर्छन् ।
सिवाकोटी आफैं बजार घुमेर उपभोक्ता र बिक्रेताको प्रतिक्रिया लिइरहेका छन् । उनी भन्छन्, ‘हामीले स्थानीय बजारमा घुम्दा लोकल तरिकाले गिलासमा मोही बेच्ने गरेको पायौँ । उहाँहरूले हाम्रो प्याकेजिङ उत्पादन आएपछि बनाउने झन्झट र गिलास सफा गर्ने दु:खबाट मुक्ति मिल्ने भन्दै खुसी व्यक्त गर्नुभएको छ ।’
इस्टर्न बेभरेज मोहीमा मात्र सीमित छैन । यो एउटा पूर्ण डेरी उद्योग हो, जसले ‘बेला’ ब्रान्डमा स्ट्यान्डर्ड र लो–फ्याट दूध, विभिन्न साइजका कप र जारमा दही, घिउ, पनिर, बटर, खुवा र आइसक्रिमसमेत उत्पादन गर्छ । विशेषगरी तराईंका समुदायमा विवाह, भोजभतेर तथा मरुमारुमा दहीको अत्यधिक माग हुने भएकाले ५ किलोदेखि २५ किलोसम्मका जार–दही निकै लोकप्रिय छ ।
‘तराईंको कल्चरमा दहीको ठूलो महत्त्व छ । एउटै कार्यक्रममा डेढ–दुई सय किलोसम्म दही खपत हुन्छ,’ सिवाकोटीले भने ।
कम्पनीले छिट्टै विभिन्न स्वादमा ‘लस्सी’ पनि बजारमा ल्याउने तयारी गरेको छ । मोही र लस्सीको बजारलाई थप आक्रामक बनाउन छुट्टै डेडिकेटेड गाडीमार्फत् वितरण गर्ने योजना छ । यो उद्योगले स्थानीय स्तरमा ठूलो रोजगारी पनि सिर्जना गरेको छ । हाल यहाँ ८० देखि ८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
दुई वर्षअघि स्थापना भएको यो कम्पनीले छोटो समयमा बजारमा तरंग नै ल्याएको छ । स्वास्थ्यलाई असर गर्ने पेय पदार्थका लागि स्वस्थकर रहन सहयोग गर्ने मोहीको ब्रान्डिङ गर्ने काम आफैंमा प्रेरणादायी छ । यो केवल एउटा व्यापारिक सफलताको कथा होइन, यो स्थानीय स्रोतको सदुपयोग, किसानलाई प्रोत्साहन र स्वदेशी उत्पादनप्रतिको विश्वासको कथा हो । बेला मोहीको हरेक बोतलले उपभोक्तालाई स्वाद मात्र होइन, एउटा स्वस्थ विकल्प र राष्ट्रिय उत्पादनप्रतिको गर्व पनि प्रदान गरिरहेको छ । साभार : लोकान्तर डटकम


