काठमाडौं । नेपालको स्न्याक्स बजारलाई नयाँ स्तरमा पुर्याउने उद्देश्यसहित चौधरी ग्रुपले भारतको अग्रणी स्न्याक्स ब्रान्ड बिकाजी फुड्ससँग रणनीतिक साझेदारी गरेको छ ।
चौधरी ग्रुप र बिकाजी फुड्स इन्टरनेशनल लिमिटेड बीच भएको ५०–५० प्रतिशत साझेदारीमा आधारित सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतामार्फत भुजिया, नमकिन, पापड र प्याकेज्ड मिठाईजस्ता प्रिमियम गुणस्तरका बिकाजीका परिकारहरू नेपालमै उत्पादन हुनेछन्।

नेपालमै अत्याधुनिक उत्पादन फ्याक्ट्री स्थापना गर्न दुवै कम्पनीले पूँजी संयुक्त रूपमा लगानी गर्ने भएकाले उत्पादन छिट्टै सुरु हुने र बजारमा उपलब्ध हुने दुवै कम्पनीहरूले विश्वास लिएका छन् ।
सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले यस साझेदारीले चौधरी ग्रुपको नेपालमा विश्वस्तरीय नयाँ ब्राण्ड विस्तार गर्ने योजनामा थप मद्दत पुगेको बताए।
“यसले रोजगारी सिर्जना गर्ने, आपूर्ति शृङ्खलालाई सुदृढ बनाउने र खाद्य उद्योगलाई गतिशील बनाउन मद्दत गर्नेछ। हामी भारतका विविध स्वादलाई नेपालीहरूको दैनिक जीवनको सहज हिस्सा बनाउने लक्ष्यमा छौँ,” चौधरीले भने ।
त्यस्तै, बिकाजी फुड्स इन्टरनेशनलका प्रबन्ध निर्देशक दीपक अग्रवालका अनुसार नेपाल एक रणनीतिक बजार हो र यो सम्झौता बिकाजीको विश्वव्यापी विस्तार यात्रामा महत्वपूर्ण उपलब्धि समेत हो । सीजीको बलियो बजार नेतृत्व र गहिरो स्थानीय बुझाइको संयोजनले हामीलाई नेपाली उपभोक्ताका लागि गुणस्तरीय र सुलभ उत्पादन पुर्याउन सक्षम बनाउनेछ। व्यापारभन्दा बाहिर पनि यो साझेदारीले समुदाय सशक्तीकरण, आपूर्ति शृङ्खला मजबुत बनाउने र नेपालकै खाद्य प्रणालीलाई उन्नत बनाउने लक्ष्य राखेको छ,” उनले भने ।
नेपालको एफएमसीजीबजार अहिले तीव्र गतिमा विस्तार भइरहेको छ। करिब ३ करोड जनसंख्या र शहरी उपभोक्तामाझ मागको वृद्धिसँगै, एफएमसीजीको बजार वार्षिक २० प्रतिशतको दरले वृद्धि भइरहेको कम्पनीले जनाएको छ। नेपालमा एफएमसीजीको बजार १ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ।
रणनीतिक साझेदारीअन्तर्गत चौधरी ग्रुपको नेतृत्वमा नेपालमै अत्याधुनिक उत्पादन तथा प्याकेजिङ इकाइ स्थापना गरिनेछ। यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ, स्थानीय उद्यमशीलता र आपूर्ति श्रृंखला सुदृढ बनाउनेछ, स्वच्छ, सुलभ र नेपाली संस्कृतिसँग मेल खाने उत्पादन उपभोक्तासम्म पुर्याउनेछ र नेपाललाई क्षेत्रीय खाद्य निर्यातमा बलियो मुलुकका रूपमा स्थापित गर्नेछ। दुवै कम्पनीले नवप्रवर्तन प्रवर्द्धन, समुदाय सशक्तिकरण र नेपालकै आर्थिक तथा औद्योगिक वृद्धिमा योगदान पुर्याउने साझा अडान व्यक्त गरेका छन्।


