काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कानुन बनाउँदा सेवा स्तरलाई सुधार गर्ने गरी बनाइनुपर्ने बताएका छन् । मङ्गलबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल भएको थियो । उनले विमानस्थल सुधारका लागि कानुनहरू बनाइँदा संस्थागत सुधार र सेवा स्तरको सुधारमा विशेष जोड दिनुपर्ने बताए ।
अलग अलग संरचनाको परिकल्पना गर्ने तर सेवाको स्तर पुरानै भएको खण्डमा छुट्टै संरचनाको महत्त्व नरहने बताए । कानुनले निजी क्षेत्र र वैदेशिक लगानीलाई आकर्षित गर्दै अघि बढ्न सक्नुपर्ने बताए । सांसद सापकोटाले अन्तर्राष्ट्रिय स्तरलाई विश्वासमा लिने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।


