३१ श्रावण २०८३, आइतबार 1786888876
Banner

झलनाथलाई पार्टीमा बस्ने अधिकार छैन, खुरुक्क राजीनामा दिए हुन्छ : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता झलनाथ खनाललाई राजीनामा दिएर पार्टीबाट बिदा हुन सुझाव दिएका छन्। खनालले पार्टी नीतिविपरीत अभिव्यक्ति दिए हो भने पार्टीमा बस्ने नैतिक अधिकारसमेत नरहेको बताए।

शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘आजकाल त एआईको जमाना पनि छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ, यदि त्यो बोलेको हो भने उहाँलाई पार्टीबाट बिदा गरिदिनुपर्छ। यो पार्टीमा बस्ने ठाउँ नै रहेन। नैतिक अधिकारै छैन। अहिले खुरुक्क राजीनामा दिनुपर्छ, बिदा भएर जानुपर्छ।’

यसअघि एक टेलिभिजन कार्यक्रममा बोल्दै नेता खनालले एमाले विभाजन गलत रहेछ भन्ने ठाउँमा पुगेको र एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका थिए। सोहीबारे प्रश्न गर्दा अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्। खनालले पार्टीको संस्थागत निर्णयको बारम्बार उल्लंघन गरेको आरोप लगाउँदै नेपालले थपे, ‘संस्थागत निर्णयको उल्लंघन गर्ने कुरामा नम्बर वान हुनुहुन्छ। उहाँको कुराको कुनै अर्थ छैन।’

उनले संविधान र कानुनले कसैलाई पार्टी परिवर्तन गर्न नरोक्ने बताए। ‘कानुनले रोकेको मलाई थाहा छैन। संविधानले, कानुनले रोकेको छैन भने व्यक्तिको आफ्नो अधिकारको कुरा हुन्छ,’ उनले भने। आफ्नो पार्टी अहिले संगठन बलियो बनाउने अभियानमा लागेको बताउँदै उनले वामपन्थी र लोकतान्त्रिक शक्तिहरूसँग मुद्दाका आधारमा सहकार्य गर्दै अघि बढ्ने नीति रहेको स्पष्ट पारे।

‘हामी आफ्नो पार्टीलाई बलियो बनाउने काममा लागेका छौँ। जो-जोसँग विचार मिल्छ, इस्युहरू मिल्छ, सहकार्य गरेर जाने पक्षमा छौँ,’ उनले भने।तत्काल कुनै पार्टीसँग एकताको सम्भावना नरहेको तर मोर्चा बनाएर सहकार्य गर्न सकिने उनको भनाइ थियो। ‘अहिले एकीकरणको कुरा भएकै छैन। अहिले सहकार्यको कुरा भएको छ, मोर्चाको कुरा भएको छ,’ उनले भने।