१ जेष्ठ २०८३, शुक्रबार 1778904553
समाज

मालिकाका ठूला आयोजना अधुरा

म्याग्दी, १८ साउन । मालिका गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा ठेक्कामार्फत सञ्चालन गरेका चारमध्ये तीन वटा आयोजना अधुरा छन् । एउटा आयोजनाको कामनै सुरु नभइ ठेक्का तोडिएको हो । छ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित मालिकाको केन्द्र दरवाङबाट मालिका–१ को वडा कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि विसं २०७८ मा ठेक्का सम्झौता भई काम सुरु भएकामा अझै सकिएको छैन् । विसं २०७८ माघ ७ गते जिके/आइएसएसी जेभीसँग ठेक्का सम्झौता भएको आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति ७० प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले रु एक करोड २९ लाख भुक्तानी भएको आयोजनाको छैठौँ पटक थपिएको म्याद आगामी पुसमा सकिने जानकारी दिनुभयो ।

“रु तीन करोड ३१ लाख ९९ हजार नौ सय ९९ लागत अनुमान गरिएको सडक निर्माणका लागि ठेक्का प्रतिस्पर्धामा सबैभन्दा कम कबोलेको कम्पनीसँग सम्झौता भएको थियो”, उहाँले भन्नुभयो, “अहिले थपिएको समयभित्र पनि काम नसके कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेका छौँ ।” चार वर्ष पुरानो दरवाङ–निस्कोटमात्र नभएर मालिका गाउँपालिकाले गत आवमा ठेक्कामार्फत सञ्चालन गरेका तीन वटा आयोजना अधुरा छन् भने एउटाको काम सुरु नभइ ठेक्का तोडिएको छ । रु एक करोड बजेट विनियोजन भएको निस्कोट–ताराखोला जोड्ने सडक निर्माण गर्न भएको ठेक्का सम्झौतामा वनसम्बन्धी मुद्दा परेपछि तोड्नु परेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । “जग्गा खरिदका लागि विनियोजन गरिएको रु एक करोड बजेट पनि दुःख दिने र अल्झाउने नियतले अख्तियारमा परेको मुद्दाका कारण कार्यान्वयन हुन सकेको छैन”, उहाँले भन्नुभयो, “मुद्दा मामिला, उजुरीसँगै छनोट भएका ठेकेदारले पनि साथ नदिँदा गतवर्ष पुँजीगत शीर्षकमा विनियोजन भएको रु १८ करोडमध्ये ५२ प्रतिशत मात्र खर्च भएको छ ।”

गत आर्थिक वर्षमा ओमेन अस्कर निर्माण सेवासँग ठेक्का सम्झौता भएको दुखुवेँशी सिँचाइ आयोजना सम्पन्न भएको छ । रु ४० लाख लागत अनुमान र करसहित रु २८ लाख २९ हजार एक सय ४५ मा ठेक्का सम्झौता भएको उक्त आयोजनाको ९० दशमलव ३६ प्रतिशत खर्च भएको आयोजना कार्यालयले जनाएको छ । मालिका–६ मा रहेको दुखुवेँशी सिँचाइ आयोजनाको मुहानमा बाँध र ४३ मिटर पक्की नहर निर्माण भएको अध्यक्ष गर्बुजाले जानकारी दिनुभयो । उहाँका अनुसार चट्टान निर्माण सेवाले विसं २०८१ माघ २९ गते रु ९८ लाख ३८ हजार दुई सय ९२ मा ठेक्का सम्झौता गरेको मालिका–३ डाँडागाउँ स्वास्थ्य चौकी भवन निर्माणको रु ३२ लाख ९० हजार दुई सय ४० मात्र खर्च भएको छ । अघिभारा–ताक्से–रुम मोटरबाटो निर्माणका लागि विसं २०८१ पुस २५ गते रु दुई करोड ४८ लाख ८७ हजार छ सय छ मा विके कन्ट्रक्सनसँग सम्झौता भएको आयोजनाको जम्मा रु १७ लाख ६९ हजार दुई सय २० मात्र भुक्तानी भएको छ । सङ्घीय र प्रदेश सरकारको विशेष र समपुरक अनुदानका आयोजना तोकिएको समयमा नसकिँदा गाउँपालिकामा बजेटको दायित्व बढेको अध्यक्ष गर्बुजाले बताउनुभयो ।